बुटवल,२३ भदौ ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिब डा.दीपक काफ्लेले सार्वजनिक खरिद ब्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहे पनि धेरै अवसर रहेको बताएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्धारा बिहीबार बुटवलमा आयोजित ‘सामाजिक जवाफदेहिता र सदाचारका लागि सार्वजनिक खरिद’बिषयक छलफल कार्यक्रममा बोल्दै प्रमुख सचिब काफ्लेले सार्वजनिक खरिद ब्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहे पनि धेरै अवसर समेत रहेको बताएका हुन् ।
जो कोहीलाई सार्वजनिक खरिद ब्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त हुन नसक्ने भन्दै उनले जिम्मेवार ब्यक्तिले प्रचलित ऐन कानूनको परिधि भित्र रहेर काम गर्न डराउनुपर्ने अवस्था नरहेको बताए ।
सार्वजनिक खरिद आफैमा चुनौतीपूर्ण कार्य भएको भन्दै प्रमुख सचिब काफ्लेले चुनौतीपूर्ण कार्य भन्दैमा जिम्मेवार अधिकारी त्यसबाट भाग्नु भन्दा पनि कुशलतापूर्वक ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्यिनी प्रधानाङ्गले समाजमा सामाजिक जवाफदेहिता र सदाचार कायम गराउने कार्यमा सबैको चासो हुनुपर्ने आवस्यकता औल्याइन् ।
लुम्बिनी प्रदेशका बिभिन्न मन्त्रालयका सचिब सहित सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित अधिकारीहरु,स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृतहरुको सहभागिता रहेको कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक श्रीकुमार राई,लुम्बिनी प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवाली, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा सार्वजनिक खरिद विज्ञको रुपमा कार्यरत शक्ति श्रेष्ठले सार्वजनिक खरिद सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र नेपालको अवस्था बारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागि मन्त्रालयका सचिब तथा प्रमुख प्रशासकीय अधिकृतहरुले सार्वजनिक खरिद ऐन र नियमावलीमा रहेका अस्पष्टताले काममा समस्या उत्पन्न हुनेगरेको भन्दै अस्पस्ट रहेका बुँदाहरुलाई थप प्रष्ट पार्नुपर्ने सुझाव दिएका थिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका बरिष्ठ अधिकृत विनोद भट्टराईले नेपालको सार्वजनिक प्रशासनलाई जवाफदेही र पारदर्शी बनाउने उदेश्यले सार्वजनिक खरिदको बिषयमा सरोकारवालाहरुबीच छलफल कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।






