नवलपुर,२२ भदौ ।
अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत ठाउँमा जलमग्न भएको हो ।
बुटवल–नारायणघाट सडकखण्ड विस्तारको क्रममा सडकका नाली र ढल भत्काइएका कारण पानी बग्न नपाएपछि डुबान भएको हो । नगर क्षेत्रका सबै सडक जलमग्न र हिलाम्मे भएपछि नागरिकले सास्ती खेप्नु परिरहेको छ । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ ।
बुटवल–नारायणघाट सडकको काम समयमै सम्पन्न नहँुदा घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलाम्य हुने समस्याले सकस भएको स्थानीयको भनाई छ ।
वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र आसपासका विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतमा पानी पसेको प्रहरीले जनाएको छ ।
पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ ।






