बुटवल,८ भदौ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
हाल साताको तीन उडान भर्दै आएको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा सात उडान भर्न लागेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
जजिराले कुवेतबाट काठमाडौं र भैरहवा दुबै विमानस्थलमा नियमित उडान गरिरहेको छ ।
यो विमानस्थलमा अर्को महिनाबाट वीज एयरले आवुधावीबाट सिधा उडान गर्ने गरी अनुमति लिइसकेको नागरिक उड्यन कार्यालयले जनाएको छ । प्रवक्ता निरौलाका अनुसार अक्टोवरबाट भने सो कम्पनी भैरहवामा आउने छ ।
नेपालको वर्षायाम सकिएपछि पर्यटकीय सिजन प्रारम्भ हुन्छ । त्यसपछि भने नयाँ कम्पनीहरु आकर्षित हुन सक्ने प्राधिकरणका अधिकारीहरुको अपेक्षा छ ।
एयर चाइनालाई नेपालमा उडान बढाउन प्राधिकरणका अधिकारीहरुले आह्वान गरेका छन् । प्रवक्ता निरौलाका अनुसार चीनमा हिमालय एयरलाइन्सको उडानलाई प्रतिवन्ध लगाएसँगै नेपालबाट चीन जाने र चीनबाट नेपाल आउने यात्रु समस्यामा परेका छन् । सोहीकारण मौखिक रुपमा एयर चाइनालाई उडान थप्न आह्वान गरिएको हो ।
चीनमा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान बढाउन नसक्दा समेत यो रुटमा विदेशी एयरलाइन्सको भर पर्नुपर्ने बाध्यता रहेको छ । साविकमा भारतपछि धेरै पर्यटक आउने मुलुकमा चीन पर्छ ।






