दाङ,७ भदौ ।
नेपाल बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएको रहस्य खुलेको छ ।

बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरेको बन्दको मौका पारी चालक आफैंले चलाउदै आएको टिप्परमा आगजनी गरेको खुलासा भएको हो ।

टिप्परमा चालक आफैले आगजनी गरेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय दाङले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी आज बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए ।

गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।
घोराही(लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।