काठमाडौँ,११ असार ।
शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजामा उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरेका छन् ।

सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका हुन् ।

मन्त्री पोखरेलले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको दाबि गर्दै आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको स्पष्ट गरेका छन् ।

सथौ उनले नतिजाको विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्ने बताएका छन् ।

उनले यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा,विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । उनले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न समेत अनुरोध गरेका छन् ।