बुटवल,६ भदौ ।
मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम सृजना गरेको आरोपमा बुटवलमा एक जना पास्टर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् ।
बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जानकारी दिए ।
भिडियोमा होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ । भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच÷छ लाख खर्च गर्दा पनि निको नभएको’ दाबी गरिएको छ ।






