File: A view of Butwal City. Photo: THT

बुटवल,६ भदौ ।
अझै एक÷दुई दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।

बुटवलसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । दिउँसोको समयमा हिजोको जस्तै अझै गर्मी बढ्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।
हिजो सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस,भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमलव ५, जनकपुरको ३४ डिग्री सेल्सियस र सिमराको ३३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यस्तै काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपाल नजिक नरहेकाले केही दिनयता राम्ररी पानी पर्न सकेको छैन ।

बर्खाको बेला भए पनि पानी नपर्दा धेरै ठाउँका खेतबारीमा लगाएका बाली सुक्न थालेका छन् । पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि तराईका जिल्लामा राम्ररी पानी नपरेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार यो हप्ताभरि नै लगातारको झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुन अनुमान छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।