बुटवल,४ भदौ ।
अझै केही दिन वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले दिएको जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अझै केही दिन वर्षाको सम्भावना रहेको छ।
मौसमविद भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानमा छ। यो प्रक्रिया अब १-२ दिन रहन्छ। न्यून चापीय रेखा सरदर स्थानभन्दा जति उत्तर भयो त्यतिनै पानी पर्ने सम्भावना बढ्छ ।
हिजो/ अस्तिभन्दा अब केही ठूलो वर्षा हुनसक्ने माैसमविद्काे भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यसैगरी राति पनि बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।
भोलि आइतबार कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। सोमबार पनि सुदूरपश्चिम, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मुलुकका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।








