बुटवल,३ भदौ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल मोतीपुर अ‍ौद्योगिक क्षेत्रको जग्गा व्यवस्थापनकाे बिषयमा स्थानीयसँग छलफल थालेका छन् ।
मोतीपुरमा अ‍ौद्योगिक क्षेत्रमा स्थानीयका समस्या समाधान गरी अ‍ौद्योगिक क्षेत्र निर्माणका लागि प्रमुख पाण्डेयले स्थानीयसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा स्थानीयले बस्ती नमासिनेगरी अ‍ौद्योगिक क्षेत्र बनाउनुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने, प्रदुषण कम गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्नेजस्ता माग राखेका छन्।
उनीहरूले अन्यत्रबाट आएर अ‍ौद्योगिक क्षेत्रको जग्गा अतिक्रमण भएको र स्थानीयसँग द्वन्द्व बढेको बताएका छन्।
तत्कालीन संघर्ष समितिका सदस्य बाबुराम घिमिरे, स्थानीय अगुवाहरू विष्णु भण्डारी, झिल्लु न्यौपाने, गंगाराम ढकाललगायतले २०२० सालदेखि जोतभोग गर्दै आएका स्थानीयका माग सुनिनुपर्ने र व्यवस्थापन गरिनुपर्ने बताए।
छलफलका क्रममा स्थानीयका समस्या र गुनासो सुनेपछि प्रमुख पाण्डेयले स्थानीयको माग सम्बोधन गर्दै अ‍ौद्योगिक क्षेत्र निर्माण हुने बताए।
“मैले संघ सरकारसँग पनि छलफल गरेँ, स्थानीयका मागबारे पनि जानकारी गराएको छु,-नगरप्रमुख पाण्डेयले स्थानीयसँग भने-“स्थानीयका माग सम्बोधन गरेर यहाँ अ‍ौद्योगिक क्षेत्र बन्छ, त्यसको लाभ स्थानीयले नै बढी लिनेछन् ।”
उनले स्थानीयका माग सम्बोधन हुनेगरी छिटै नै आवश्यक प्रक्रिया अघि बढ्ने बताए। “अ‍ौद्योगिक क्षेत्र पनि बन्छ, स्थानीयका समस्या पनि समाधान हुन्छन्”-उनले भने।