बुटवल,२ भदौ ।
बुटवलमा रोजगार सूचना केन्द्र सञ्चालनमा आएको छ रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको बिहीबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो ।
लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्रको बिहीबार लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले शुभारम्भ गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन सरकारको नीति रहेको बताए । निजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडी बढाएको उल्लेख गर्दै उनलेे उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकताअनुसार काममा लगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले श्रम शक्तिको सम्मान र उनीहरुको उचित परिचालनका गर्दै स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान दिन आग्रह गरिन् । उनले बुटवल उपमहानगरपालिकाले रुपन्देही उद्योग संघसँग सधै सहकार्य गरेर उद्योगी व्यवसायीहरुका समस्याहरुका विषयमा आपसी समझदारीका रुपमा काम गर्ने प्रतिवद्धता पनी व्यक्त गरिन् ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष तथा संघका अध्यक्ष परिषदका संयोजक एजाज आलमले रोजगार सूचना केन्द्रको स्थापनाको लक्ष्य संघले धेरै पहिलेबाट गरेको भए पनि सुरुवात गर्न नसकिएको भन्दै आज त्यसको सुरुवात भएकोमा खुशी व्यक्त गरे । केन्द्रको स्थापनाले रोजगादाता र श्रम शक्तिवीचको सम्बन्धलाई पनि मजवुत बनाउने विश्वास व्यक्त गर्दै उनलेे केन्द्रलाई निरन्तर सञ्चालन गर्नका लागि आउने चूनौतीहरुलाई पार लगाउन ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
सो अवसरमा संघका अध्यक्ष माधव प्रसाद पौडेलले स्वागत गर्दै केन्द्र स्थापनाको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । अध्यक्ष पौडेलले देशको श्रम शक्तिको समुचित परिचालनको व्यवस्थापन गर्नका लागि रुपन्देही उद्योग संघले पुलको रुपमा कामको सुरुवात गरेको बताए । उनले शिपयुक्त जनशक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताका लागि प्रदेश सरकार एवम् बुटवल उपमहानगरपालिकाको सहयोगमा केन्द्रले काम गर्ने बताउँदै शिपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरुको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने भूमिका निवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष पौडेलले जनशक्तिहरु केन्द्रमा सूचिकृत गर्ने र आवश्यकता अनुसार परिचालन गर्दै शिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी गराए ।
कार्यक्रममा प्रदेश लेखा नियन्त्रक कार्यालय, लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालय प्रमुख दिपक ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव विजय कार्की, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा तथा द्वितीय उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव हरी बहादुर खत्री संघका पूर्व अध्यक्ष तेज कुमार पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रोजगार सूचना केन्द्रले अनलाइन सफ्टवेयरमार्फत आफ्नो योग्यता अनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले आफुलाई उपयुक्त श्रमशक्ति अनलाइनमार्पmत नै छनौट गर्न सकिने व्यवस्था रहेको तथा संघको सचिवालयमा सम्पर्क गरी सुविधा लिन सकिने व्यवस्था रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी दिए ।






