बुटवल,२ भदौ ।
बुटवलको मूख्य सडक निर्माणमा देखिएको समस्या बारे अनुगमन गर्न गठित बिशेष समितिले ३ दिनभित्रमा सडकको बेस तयार नभई काम अघि नबढेमा सडक
विभागलाई ठेक्का तोड्न सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेकाे विशेष अनुगमन तथा सहजीकरण समितिको बैठकले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडककाे काम बिहीबारदेखि थाल्ने र ३ दिनभित्रमा बेस तयार नभई काम अघि नबढेमा ठेक्का तोड्न र वैकल्पिक व्यवस्था गर्ने गरी सडक सडक विभागलाई सिफारिश गर्ने निर्णय भएको विशेष अनुगमन तथा सहजीकरण समितिका
संयोजक टेकराज पन्थीले जानकारी दिए ।
बैठकले सडक बिस्तारमा भएको ढिलासुस्ती समाधानका लागि सम्बन्धित कार्यालयहरुबाट समन्वय गर्ने निर्णय समेत गरेको छ ।

विद्युतका पोलहरु सबै समयमा नसारेकाले गाड्नुपर्ने स्थानमा २
दिनभित्रमा सम्बन्धित निर्माण व्यवसायीलाई गाड्न लगाउने र तत्काल गाड्न नसकिएको वा गाड्न नपर्ने पोलहरु एकीकृत गरी व्यवस्थितगर्न विद्युत प्राधिकरणका कार्यालय प्रमुखलाई जिम्मेवारी तोक्ने निर्णय समेत बैठकले गरेको छ ।
यस्तै, खानेपानी पाइपहरु व्यवस्थित गरी गाड्नुपर्ने वा नपर्ने यकिन गरी ३ दिनभित्र उचित व्यवस्थापनका लागि खानेपानी संस्थान कार्यालय प्रमुखलाई जिम्मेवारी तोक्ने निर्णय भएको विशेष अनुगमन तथा सहजीकरण समितिका संयोजक पन्थीले बताए ।
बैठकले नेपाल टेलिकमको ट्राफिक चोकमा भएको म्यानुअल
चेम्बरलाई ७ दिनभित्र सबै कार्य सम्पन्न गर्ने व्यवस्थापनका लागि नेपाल टेलिकमको निर्देशनालयका निर्देशकलाई जिम्मेवारी तोक्ने निर्णय भएको उनले जानकारी दिए ।
समितिका संयोजक पन्थीकाे अध्यक्षतामा बसेकाे बैठकमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल,नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र लाल
उपाध्याय, दुरसञ्चार कार्यालय बुटवलका उपप्रबन्धक नेत्र नारायण खनाल र भगवान राम कलवार, बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक कुमार झा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख
सुरेश कुमार महतो, नेपाल खानेपानी संस्थान, बुटवलका विजय श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सुवित श्रेष्ठ, पेम्बा लामा र प्रविण मिश्रा, बुटवल ४ का अध्यक्ष नरिश्वर शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद
परियारलगायत सहभागी रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।