बुटवल,१ भदौ ।
प्रदेश सरकारले दैबी प्रकोप पिडितहरुको उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्ने बाटो खोलेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले हवाई उद्दार सम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेसँगै दैबी प्रकोप पिडितहरुको उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्ने बाटो खुलेको हो ।

बैठकले लुम्बिनी प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (तेस्रो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्नुकासाथै अर्थ तथा सहकारी मन्त्रालयः आर्थिक वर्ष २०७८÷७९मा आर्थिक दायित्व सिर्जना भई भुक्तानी क्रममा सरकारी लेखा प्रणालीमा आएको समस्याको कारणले भुक्तानी दिन नसकिएको भनी लेखा उत्तरदायी अधिकृतबाट सिफारिस भएको अवस्थामा प्रदेश लेखा नियन्त्रक कार्यालय र सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयहरुले भुक्तानी दिन बाँकी विवरण (म.ले.प.फा.न. २२१) प्रमाणित गरी दिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

त्यस्तै बैठकले वन पैदावार आपूर्ति समिति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गर्नुकासाथैस्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालित आईसोलेसन अस्पतालहरुको सेवा निरन्तरता र अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद सम्बत् २०७९ भाद्र मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताए ।

मन्त्रीपरिषद बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा श्री मशहूद खाँ कपिलवस्तुलाई मनोनयन गर्ने निर्णय गरेको छ भने लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले लुम्बिनी प्रदेश, मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को अनुसूची २ मा हेरफेर सम्बन्धी सूचना स्वीकृत गरेको छ भने जग्गा एकीकरण सम्बन्धी नियमावली, २०७९ को नियम ४ बमोजिमको उच्च स्तरीय निर्देशक समितिमा विज्ञ सदस्यहरुको सेवा सुविधा निर्धारण गरेको छ ।