बैकल्पिक उर्जाको प्रयोगबाट तानसेनको खानेपानीमा विद्यूत् बिलिङ घटाउने प्रयास
पाल्पा, २६ साउन ।
पाल्पाको तानसेनस्थित भुल्के खानेपानीको चार नम्बर पम्पमा १५ किलोवाटको सोलार प्यानल जडान भएको छ ।

भुल्के खानेपानीको चार नम्बर पम्पमा १५ किलोवाटको सोलार प्यानलको बिहीबार लुम्बिनी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री बीरबहादुर राना, नेपाल नविकरणीय उर्जा कार्यक्रम, बेलायती राजदुतावासका प्रतिनिधि सहितको टोलीले स्थलगत अवलोकन गर्नुका साथै तानसेनमा खानेपानी कसरी आएको छ भन्ने विषयमा जानकारी समेत लिएको छ ।
सो क्रममा नेपाल नविकरणीय उर्जा कार्यक्रम, बेलायती राजदुतावास, लुम्बिनी प्रदेश सरकारकबीच बैकल्पिक उर्जाको प्रयोगबाट तानसेनको खानेपानीमा विद्यूत् बिलिङ घटाउने प्रयासका विषयमा छलफल भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री बीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताए । राजनीतिक दल, नागरिक समाज, तानसेन खानेपानी समिति, संचारकर्मी, लुम्बिनी प्रदेश सरकारबीच भएको छलफलमा कसरी खानेपानी सहज गराउनका लागि संरचना दिगो बनाउने, बिलिङ घटाउने विषयलाई प्राथमिकता दिइने मन्त्री रानाले बताए ।
कार्यक्रममा तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जनतालाई खानेपानी सहज ढंगले बितरण गर्ने अवस्था मिलाउन तानसेन खानेपानी उपभोक्ता समिति सक्रिय हुनुपर्ने बताए । उनले जनताले सहज रुपमा खानेपानी नपाउने अवस्थाको अन्त्य गर्नुका साथै विद्युत्को बिल घटाउन पनि बैकल्पिक उर्जाले सहयोग पुग्ने बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठले अहिलेको बितरण प्रणालीलाई समेत बैज्ञानिक ढंगले अघि नबढाउँदासम्म अभाव सधै झेल्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विकले वर्षायाममा समेत सात देखि १० दिनमा घरमा धारा आउने भएकाले जनतालाई सहज ढंगले खानेपानी बितरणका लागि सबैको सहयोग हुनुपर्ने बताए ।
नेकपा एकिकृत समाजवादीका प्रतिनिधि तथा पूर्व सांसद यादवबहादुर रायमाझीले तानसेनमा प्रतापशमसेरका पालादेखि नै पानीको दुःख रहेको इतिहास रहेकाले जनताका लागि अझै पनि उस्तै अवस्था रहेको बताए ।
तानसेन खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले भुल्केमा हुने विद्युत् गडबढी र कालीगण्डकीको योजना ढिलाई हुँदा पनि तानसेनमा खानेपानीको अभाव भएको बताए ।
कार्यक्रममा बेलायती राजदुतावासकी नविकरणीय उर्जा सल्लाहकार रेशा पिया, नविकरणीय उर्जा कार्यक्रमका प्रेम सागर सुवेदी, बद्रीनाथ बराल, लुुम्बिनी प्रदेश उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका इन्जिनियर झलक बहादुर थापा, भरत नेपाल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, नेपाल नागरिक समाजका कृष्ण बहादुर रावल लगायतले तानसेनको खानेपानी महंगो भएकाले यसको बिलिङ घटाउन नविकरणीय उर्जाको प्रयोगलाई बढाउन सके फाइदा पुग्ने बताएका थिए ।
कार्यक्रममा बेलायती राजदुतावाससंग मिलेर आगामी दिनमा काम गर्न कसरी सकिन्छ भन्ने विषयमासमेत छलफल गरिएको थियो ।
यसैगरी लुम्बिनी प्रदेश सरकारले पछिल्लो समयमा बेलायती राजदुतावास, नविकरणीय उर्जा कार्यक्रमसँग गरेका कामका विषयमासमेत छलफल भएको छ । जिल्लाको भैरवस्थान, बतासेडाँडा क्याम्पस, चापपानी, बराङ्दी, खानीगाउँ क्षेत्रमासमेत सोलार राख्ने विषयमा अध्ययन भइरहेको छ । यसैगरी बतासेडाँडामा सोलारबाट १ सय ९ किलोवाट बिजुली निकाल्नका लागि अध्ययन भइसकेको बताइएको छ ।






