बुटवल,२६ साउन ।
लुम्बिनी प्रदेश अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया तत्काल अगाडी नबढाउन अदालतले आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अस्पतालको भवन निर्माणमा ‘मिलेमतो’ भएको दाबी गर्दै उच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा अदालतले तत्कालका लागि ठेक्का प्रक्रिया अगाडी बनढाउन आदेश दिएको हो ।

निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

अदालतले भदौ १ गते पेसी तोकेर त्यसअघि दुवै पक्षलाई छलफलमा बोलाएको छ । निर्माण व्यवसायी रानाले अन्तरिम आदेश माग गरी रिट दायर गरेकोले छलफल गरि निष्कर्षमा पुग्ने भन्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

यसअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्का ‘सेटिङ’ भएको निष्कर्ष निकाल्दै सच्याउन निर्देशन दिएको थियो ।