काठमाडौं,२५ साउन

नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच आज वार्ता हुने भएको छ।

परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का मंगलबार राती चीन प्रस्थान गरेका थिए ।

नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।

चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल-चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ।

काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङमार्ग र काठमाण्डौ–केरुङ रेलमार्गको विषयमा चीनसँग छलफल गर्ने तयारी छ ।

यसअघि सहमति भएको सीमा व्यवस्थापन, आपसी कानुनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपत्कालीन उद्धारमा सहकार्यलगायतका विषयमा पनि चीनसँग छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै व्यापारसम्बन्धी संयुक्त कार्य समूह, सीमा सुरक्षामा उपकरणसम्बन्धी सहकार्यका विषयमा पनि छलफल हुनेछ ।

गत वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक उच्चस्तरीय नेपाली टोली चीन गएको हो।

नेपाली टोलीको सम्मानमा चिनियाँ विदेश मन्त्री यीले आजै भोज दिनेछन् । परराष्ट्र मन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कने छ।