बुटवल,२४ साउन ।
बुटवलमा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम शुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको काम उद्घाटन गरेका हुन् ।

नापजाँचको काम शुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने बताए ।

उनले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्ने आग्रह गरे ।

बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम शुरु भएको उनले बताए ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरे ।

उनले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम शुरु गर्न सम्भव भएको बताए ।

कार्यक्रममा बुटवल वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले नापजाँचमा वडाको तर्फबाट समन्वय र सहकार्य गरिने बताए ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गरे ।

नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीब्र गतिमा अघि बढ्ने बताए ।