बुटवल,२२ साउन ।
लुम्बिनी प्रदेश सभाको कृषि,वन तथा वातवरण समितिले कृषिको विकासमा विनियोजित वजेट दुरुपयोग हुन नदिने गरी योजना बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले किसानलाई लक्षीत गरी ल्याइएका कार्यक्रमबाट बास्तविक किसान लाभान्वीत हुन नसकेका गुनासा आउने गरेको भन्दै कृषि क्षेत्रको वजेट दुरुपयोग हुन नदिने गरी कार्यक्रम ल्याउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रदेशको कृषि तथा भुमि ब्यवस्था मन्त्रालयका सचिब यामनारायण देवकोटालाई समितिमा बोलाएर समितिले उक्त निर्देशन दिएको हो ।

बैठकमा आर्थिक बर्ष २०७८÷०७९ मा मन्त्रालयले सञ्चालन गरेका कार्यक्रम र आर्थिक बर्ष २०७९÷०८० को कार्यक्रमबारे छलफल गरी समितिले वास्तविक किसानले राहात पाउने खालका कार्यक्रम ल्याउन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति जाल्पा भुसालले जानकारी दिइन् ।

समिति सभापति भुसालको सभापतित्वमा सम्पन्न बैठकमा पुर्व मन्त्री समेत रहेकी समिति सदस्य आरती पौडेल,समिति सदस्यहरु कुल प्रसाद पोखरेल,दीपेन्द्र कुमार पुन,कबिराम थारु,रुन्धावती शर्मा,लौटी थारुले राज्यले कृषिमा गरेको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको भन्दै वास्तविक किसानले लाभ पाउने गरी कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए ।