बुटवल,२० साउन ।
बुटवल उपमहानगरपालिकाभित्रका सरकारी कार्यालयहरुले विकास निर्माणका काममा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको कार्यालय प्रमुखहरुसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा उनिहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका कार्यालयबीच समन्वय र सहकार्य भएमा मात्रै बुटवल नगरको समान हिसाबले विकास हुने बताएको उनको सचिवालयले जनाएको छ ।
‘बुटवल उपमहानगरपालिकाको एकल प्रयासले मात्रै बुटवल आर्थिक केन्द्र बन्न सक्दैन, यसका लागि सबै कार्यालयहरुको पनि समान खालको भूमिका आवश्यक हुन्छ, उनले भने–बुटवलको विकासका काममा सबै सरकारी कार्यालयहरुदेखि अस्पतालसम्मको सकारात्मक भूमिका आवश्यक पर्छ, त्यसका लागि यहाँहरुले निरन्तर समन्वय र सहकार्य राख्नुस्, बुटवल उपमहानगरपालिकाले कस्ता विषयमा समन्वय र सहकार्य गर्नुपर्छ, त्यसका लागि तत्पर छ ।’
उनले जनताको दैनिक जीवनमा प्रभाव पार्ने खानेपानी, विद्युत, दुरसञ्चार, सडक डिभिजन र आयोजना कार्यालयहरुबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आग्रह गरे ।
बुटवलको मूख्य सडक विस्तार तथा मर्मतका लागि गम्भीर रुपमा चासो दिन आयोजना कार्यालय र निर्माण कम्पनीलाई उनले आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आमजनताको सेवाका लागि खटिने सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले जनताको दैनिकीसँग सरोकार राख्ने र अत्यावश्यक सेवा प्रवाहका काममा गम्भीरतापूर्वक काम गर्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रका हरेक कार्यमा उपमहानगरपालिकासँग समन्वय र सहकार्य गर्न आग्रह गरे ।
सरकारका लक्ष्य, उदेश्य र योजनाहरु कार्यान्वयनमा लैजाँदै सेवा प्रवाहलाई चुस्त बनाउनका लागि सरकारी कार्यालयबीच समन्वय र सहकार्य जरुरी रहेको उनको भनाई थियो ।
कार्यक्रममा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी, दुरसञ्चार कार्यालय बुटवलका प्रमुख नेत्रनारायण खनाल, बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक कुमार झा, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगन्द्र सिंह थापा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, जनताको तटबन्ध कार्यालय फिल्ड कार्यालय बुटवलका इश्वरी प्रसाद तिवारी, मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल,हेभी इक्युपमेन्ट डिभिजन कार्यालय बुटवलका मेकानिकल इन्जिनियर नविन घिमिरेलगायतले बोल्दै बुटवलभित्रका विकास निर्माणका काममा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको उपमहानगरपालिकाले जनाएको छ ।
बुटवलभित्रका काममा भएको ढिलासुस्तीका कारण जनताको दैनिकीमा समेत असर गरेकाले सरकारी कार्यालयहरुबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन कार्यालय प्रमुखहरुबीच छलफल कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।






