कुनै धर्मसंग सम्बन्ध छैन – राजमो
बुटवल, १७ साउन ।
राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने भएको छ ।
कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बौद्ध पुरातात्विक महत्वका स्थानहरुलाई समावेश गरी पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाले अभियान चलाउने भएको हो ।
कपिलबस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा बौद्धकालिन तथा प्राचीन सम्भयता रहेकोले ति मानवसंग जोडिएका सम्पदालाई जोडेर पुरातात्विक शहर निर्माणको परिकल्पना गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए ।
राष्ट्रिय जनमोर्चाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी बौद्ध पुरातात्विक शहर निर्माणबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक महत्वका स्थानहरुलाई समेटेर विश्वका बौद्ध पुरातात्विक शहर निर्माण गर्नसके विश्वका बौद्धिष्टहरुका लागि आर्कषण केन्द्र बनाउन सकिने भएकाले पार्टीले सो अभियान सञ्चालन गर्न लागेको बताए ।
पुरातात्विक शहर निर्माणको अभियान कुनैपनि धर्मसंग नजोडिएको स्पष्ट पार्दै उनले भने– ‘बौद्ध पुरातात्विक शहरको निर्माणले पर्यटनको माध्यमबाट आर्थिक विकास र समृद्धी हासिल गर्न सकिन्छ ।’कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न स्थानहरुको पुरातात्विक अन्वेषण र संरक्षण गरे ऐतिहासिक ठाउंहरुलाई मिलाएर बौद्ध सम्भयताको एटा विशाल शहर निर्माण हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
तत्काल बौद्ध पुरातात्विक शहर नभएपनि अहिले परिकल्पना तथा सपना मात्र देखिएको भन्दै उनले त्यसका लागि आमनागरिक, सरकार, पुरातत्वविद् र सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए ।
बौद्ध सम्भयता शहर निर्माण कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले अहिले पनि कपिलबस्तुमा १३५, रुपन्देहीमा ९९ र नवलपरासीका ४० वटा पुरातात्विक स्थलहरु अन्वेषण र संरक्षण नभएको भन्दै यी सवै स्थानमा उत्खनन गर्दै पुरातात्विक शहरको रुपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा संस्कृतविद् डा. गितु गिरीले १८९५ देखि नेपालमा उत्खनन सुरु हुन थालेपनि अझै पुरातात्विक सम्पदाको संरक्षण हुन नसकेको बताए ।
अहिले त धेरै पुरातात्विक सम्पदाको अन्वेषण नभई हराउन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
उपप्राध्यापक लिलाबहादुर केसीले मानवसंग सम्बन्धित बौद्धकालिन सम्पदाहरुको उत्खनन् गरी विज्ञान प्रयोगशालाबाट प्रमाणित गर्नुपर्ने र राजनीतिक दलहरुले गम्भीर भएर लागेमा बौद्ध पुरातात्विक शहर निर्माण गर्न सकिने तर्क गरे ।
राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेल संयोजकत्वमा पांच सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलको सदस्यहरुमा मनोज भट्ट, भिमलाल पुरी, बद्रे आलम र घनश्याम न्यौपाने रहेका छन् ।






