पोखरा,१७ साउन ।
अबिरल बर्षासँगै गएको पहिरोले म्याग्दीको मालिकामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका–२, रुमका घामबहादुर विकसहित उनकी पत्नी ३४ वर्षीया राममाया विक, १५ वर्षीय छोरा नवीन विक, १३ वर्षीय छोरा राजन र ७ वर्षीय छोरी अस्मि रहेका छन् ।

मंगलबार बिहान करिब ४ बजे आसपास गएको पहिरोले घामबहादुरको घर पुर्दा परिवारका सबै ५ जनाको मृत्यु भएको हो । तर, निरन्तर झरी परिरहेको र विकट भएकाले नजिकै भएका गाउँलेले पनि ढिलो गरीमात्रै घटनाबारे थाहा पाए । पहिरोमा परी घामबहादुर, उनकी पत्नी ३४ वर्षीया राममाया विक, १५ वर्षीय छोरा नवीन विक, १३ वर्षीय छोरा राजन र ७ वर्षीय छोरी अस्मिको मृत्यु भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए ।

पहिरोले पुरेको अवस्थामा सुरुमा ३ जनाको मात्रै शव फेला परेको थियो । स्थानीय स्वास्थ्यचौकीकी अनमी धनमाया पुनका अनुसार सुरुमा नवीन विक र राजन विकको शव फेला परेको थियो बाँकी ३ जनाको अवस्था अज्ञात थियो । तर मंगलबार दिउँसोसम्म सबैको शव भेटिएको छ ।

पहिरोले घामबहादुरको गोठ पनि बगाएको छ र त्यहाँ रहेको एउटा खच्चडको पनि मृत्यु भएको छ । बाँकी ४ वटा खच्चड पनि घाइते रहेको अनमी पुनले जानकारी दिइन् । पहिरोले रुमका २ घर पुरेको छ भने ४ घर उच्च जोखिममा छन् । ‘तलका ४ घर पनि उच्च जोखिममा रहेकाले अन्तै सारिसकिएको उनले बताइन् ।

पहिरोमा परी स्थानीय ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनिहरुको थप उपचार गर्नुपर्ने भए पनि पहिरोले बाटो बाटो बन्द भएका कारण अन्यत्र लैजान नसकिएको स्थानीयको भनाई छ ।

घाइते गोठे विकले आफूहरु सुतिरहेकैबेला एक्कासी घरमाथि पहिरो खसेको बताए । उनका अनुसार पहिरोमा परी मृत्यु भएका घामबहादुरको घर नजिकै उनको घर थियो । ‘छोराछोरी माथिको घरमा सुतेका थिए ।

मालिका गाउँपालिकाकै वडा नम्बर ३ मा मंगलबार दिउँसो गएको पहिरोले एक घर बगाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाका अनुसार पहिरोले घर बगाए पनि मानवीय क्षति भने भएको छैन ।

आइतबारदेखि निरन्तर परिरहेको वर्षातले पहिरो खस्दा म्याग्दी मुस्ताङ बाटोसमेत बन्द भएको छ । प्रजिअ रानाका अनुसार सडकको पहिरो पन्छाउन समय लाग्ने देखिएको छ ।