बुटवल, १७ साउन ।
बुटवल उपमहानगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन
काउण्टर स्थापना भएको छ ।

बुटवल उपमहानगरपालिकाको कार्यालयमा खोलिएको काउण्टरको
मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गरेका हुन् ।

काउण्टरको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले उपमहानगरपालिकाको राजस्व संकलनका साथसाथै बुटवल बजार क्षेत्रलाई समेत लाभ हुने बताए ।
‘बुटवलको यस आसपासको बजार क्षेत्रलाई समेत यो काउण्टरले सेवा दिन सक्नुपर्छ’–उनले भने । उनले बैंकले विपन्न परिवारलक्षित कार्यक्रम ल्याउन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत
किरण कुमार श्रेष्ठले बैंकले आफ्ना सेवालाई समयको मागअनुसार प्रविधिमैत्री बनाउने बताए ।
उनले देशभरका २ सय ५८ शाखाबाट ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको र अझै स्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्वता जनाए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उपमहानगरको काउण्टरको सेवा स्तरीय बनाउन आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बुटवल आसपासका उद्योगी व्यवसायीलाई समेत लाभ हुने गरी सेवा प्रवाह गर्न सुझाव दिए ।

राष्ट्रिय वाणिज्य बैंक लुम्बिनी प्रदेश प्रबन्धक दिनेश
गौतमको अध्यक्षता, उपप्रबन्धक जितेन्द्र सिंह थापाको सञ्चालन र नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीको स्वागतमा कार्यक्रम भएको थियो ।
एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिनेछ ।