बुटवल,१६ साउन ।
आर्थिक अनियमितता छानबिन गर्न माग गर्दै गैडहवा गाउँपालिका कार्यालयमा लगाइएको ताला दुई साता सम्म खुल्न सकेको छैन ।

११ बुँदे माग राखेर ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले साउन २ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

वडा नंं. ६ को राजस्व ११ महिनासम्म वडाका कर्मचारी महेन्द्र केवटले बैंकमा जम्मा नगरी दुरुपयोग गरेको, प्रमुख प्रशासकीय अधिकृतले दोहोरो सुविधा लिएको, कार्यपालिकाको निर्णय बिना करार कर्मचारीहरुलाई हटाएको विरोधमा तालाबन्दी गरिएको हो ।

तालाबन्दीका कारण २ सातादेखि कार्यालय सञ्चालनमा नआउँदा सेवाग्राही मर्कामा परेका छन् । तालाबन्दी खुलाउन कुनै पहलकदमी नभएको ६ नं. का वडाध्यक्ष सुरेन्द्र सिंह कुर्मीले बताए ।

गाउँपालिकाको वडा नं. ६ मा संकलन भएको राजस्व ११ महिनासम्म बैंकमा जम्मा नगरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले स्वीकार गरे ।

गाउँपालिकाले ११ महिनाको राजस्व बैंकमा जम्मा गर्न लगाएर कर्मचारीलाई स्पष्टिकरण सोधेर माफी दिएको पौडेलले बताए । अन्य विषयमा छलफल गरेर ताला खोल्न जनप्रतिनिधिहरुसंग संवाद भइरहेकाले छिट्टै खुल्ने अध्यक्ष पौडेलको भनाई छ ।