बुटवल,१४ साउन ।
लुम्बिनी प्रदेश सभाको प्रदेश मामिला तथा कानून समितिले दैवी प्रकोपमा परेकाहरुको उद्धार,राहत र पुनस्र्थापना कार्यलाई थप सहज र छिटोछरितो बनाउन निर्देशन दिएको छ ।

शनिबार बसेको प्रदेश मामिला तथा कानून समितिको बैठकले दैवी प्रकोपमा परेकाहरुको उद्धार,राहत र पुनस्र्थापना कार्यलाई थप सहज र छिटोछरितो बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको हो ।
प्रदेशका आन्तरिक मामिला,कानून तथा संचार मन्त्री तिलकराम शर्मालाई समितिमा बोलाएर उक्त निर्देशन दिएको समिति सभापति दामा कुमारी शर्माले जानकारी दिइन् ।

विपदमा परेकाहरुको उद्धार,राहत र पुनस्र्थापनाका लागि तीनै तहका सरकारबीच समन्वय गर्नुपर्ने कानूनी ब्यवस्थाका कारण पिडितहरुले समयमै राहत प्राप्त गर्न नसकेको र पुनस्र्थापनाको कार्यमा ढिलासुस्ती हुने गरेकोले दैवी प्रकोपमा परेकाहरुको उद्धार,राहत र पुनस्र्थापना कार्यलाई थप सहज र छिटोछरितो बनाउन निर्देशन दिएको सभापति शर्माले बताइन् ।

दैवी प्रकोपमा परेकाहरुको तत्काल उद्धार गर्न प्रदेशमा कम्तिमा पनि एक हेलिकोप्टर तयारी अवस्थामा राख्न समेत समितिले निर्देशन दिएको छ ।
यस बर्ष लुम्बिनी प्रदेशमा अधिक बर्षा हुने मौसम विज्ञान विभागको प्रक्षेपण गरेकोले विपदमा परेकाहरुको तत्काल उद्धार गर्न प्रदेशमा कम्तिमा पनि एक हेलिकोप्टर तयारी अवस्थामा राख्न समेत समितिले निर्देशन दिएको उनको भनाई छ ।

बैठकमा आन्तरिक मामिला,कानून तथा संचार मन्त्री शर्माले विपदमा परेकाहरुको उद्धार,राहत र पुनस्र्थापनाका लागि तीनै तहका सरकारबीच समन्वय गर्नुपर्ने कानूनी ब्यवस्थाका कारण पिडितहरुको उद्धार,राहत र पुनस्र्थापनाको कार्यमा ढिलासुस्ती हुने गरेको
भन्दै आगामि दिनमा त्यसलाई थप ब्यवस्थित र चुस्त दुरुस्त बनाउने मन्त्रालयको योजना रहेको समितिलाई जानकारी गराएका थिए ।

समितिका सभापति दामा कुमारी शर्माको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य तथा पुर्व मन्त्री सुदर्शन बराल,प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने,खड्ग बहादुर खत्री,सरस्वती गौतम,सुनितादेवी ठटेरले आ आफ्नो भनाई राखेका थिए ।

साे अवसरमा मन्त्रालयका सचिव काेमल प्रसाद धमलाले प्रदेशमा दैवीप्रकोप उद्वार,राहत र पुनर्थापनामा भए गरेका काम र भावी योजना बारे प्रस्तुतिकरण गरेका थिए ।