बुटवल,४ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले द्वन्द्व पिडितका समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताएका छन् ।
नेपाल पिसबिल्डङ इनिसियटिभद्वारा लुम्बिनी प्रदेशका द्वन्द्व पिडितहरूकाे अवस्थाकाे बारेमा गरेको अध्ययन प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले द्वन्द्व पिडितका समस्या समाधान गर्न जति ढिलाइ गर्याे समस्या त्यतिनै बल्झिदै जाने भन्दै जतिसक्दो छिटो समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको बताएका हुन् ।
सहिद परिवारका लागि राज्यले राहतको ब्यवस्था गरिसकेको र अझै काेही छुटेको भए एक पटक सुचना जारी गरि राहत उपलब्ध गराउने,घाइतेहरूकाे उपचार तथा निस्चित समयसम्मका लागि पेन्सन,राेजगारीकाे अवसर प्रदान गरे समस्या समाधान हुने धारणा राखे ।
प्रदेशका आन्तरिक मामिला,कानुन तथा संचार मन्त्री तिलकराम शर्माले द्वन्द्व पिडितहरूकाे जिविकाेपार्जनलाई सहज बनाउने दायित्व राज्यकाे भएको भन्दै प्रदेश सरकारले उनिहरूलाई स्वराेजगार बनाउन सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराए ।
कार्यक्रममा नेपाल पिसबिल्डङ इनिसियटिभका कार्यकारी निर्देशक सुरेन्द्र बाेगटी,साेही संस्थाकै साेधकर्ता स्मृति काफ्लेले कतिपय द्वन्द्व पिडितहरूले अझै पनि राज्यबाट राहत पाइने बिषयमा अनभिज्ञता प्रकट गरेको पाइएको,उनिहरूले राेजगारीकाे माग गरेको र राहत तथा परिपुरण सम्बन्धि नीतिगत सुधार आवश्यक देखिएको बताए ।
साे अवसरमा प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदी,मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयका कानुन सचिव राजेन्द्र थापा,सूचना प्रविधि विज्ञ रेम भण्डारी,मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका निर्देशक ग्रिस पुन,मुख्यमन्त्रीका प्रेस संयाेजक मानसिं बिक लगायतले आ आफ्नो भनाइ राखेका थिए ।






