बुटवल,४ साउन । लुम्बिनी प्रदेशकी कृषि तथा भूमि ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले भूमिहीन,सुकुम्बासी तथा अब्यवस्थित बसाेवास सम्बन्धि समस्या समाधानका लागि तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएकी छन् ।
संवाद समूह लुम्बिनीद्वारा बुधबार बुटवलमा आयाेजित लुम्बिनी प्रदेशको भूमि ब्यवस्थापन बिषयक संवाद कार्यक्रममा बाेल्दै मन्त्री रायमाझीले सरकारी तथा सार्वजनिक जग्गाको सुरक्षा तथा ब्यवस्थापन गर्ने कार्यमा तीनवटै तहका सरकारकाे फरकफरक जिम्मेवारी र दायित्व भएको भन्दै तीनवटै सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएकी हुन् ।
प्रदेशको भूमि ब्यवस्थापन सम्बन्धि कामका लागि प्रदेश सरकारले गत बर्ष वजेट विनियोजन गरे पनि स्थानीय तह तथा सुकुम्बासी समस्या समाधान आयाेगबीच समन्वय हुन नसक्दा वजेट फ्रीज भएको भन्दै उनलेे प्रदेशको भूमि सम्बन्धि समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताइन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,सुकुम्बासी समस्या समाधान आयोग रूपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्री,पुर्व अध्यक्ष बलबहादुर आचार्य,पाल्पाका अध्यक्ष माेहन गैर,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का लगायतले भूमि सम्बन्धि समस्या समाधानका लागि तीनवटै तहका सरकारबीच समन्वयको अभाव देखिएको भन्दै समस्या समाधानका लागि तीनवटै सरकार हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जाेड दिएका थिए ।
आयोगका अध्यक्षहरूले कर्मचारी अभावका कारण काम गर्न कठिनाइ भएको भन्दै राज्यले कर्मचारीकाे ब्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।
संवाद समूह लुम्बिनीका सहजकर्ता सुशिलचन्द्र बस्नेतको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।