कपिलवस्तु,३२ असार ।
मानवनिर्मित जगदीशपुर ताललाई बर्ड स्याङचुरी घोषणा गरिएको छ । लुम्बिनी प्रदेशको बन तथा वातावरण मन्त्रालयकाे आयोजनामा शनिबार एक कार्यक्रमकाबीच जगदीशपुर ताललाई ‘बर्ड स्याङचुरी घोषणा’ गरेको हो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्य मन्त्री कुलप्रसाद केसीले जगदीशपुर ताललाई वर्ड स्याङचुरी घोषणा ऐतिहासिक र दुरगनमी महत्त्वकाे काम भएको भन्दै यसले जगदिशपुरवासीका साथै कपिलवस्तुवासीकाे जिवनस्तर माथि उकास्ने विश्वास ब्यक्त गरे । वर्ड स्याङचुरी घोषणासँगै जगदीशपुर तालकाे मुहार फेरिने भन्दै मुख्यमन्त्री केसीले तालकाे साैन्दर्यकरण र संरक्षणमा वजेटकाे अभाव नहुने दाबी गरे । बर्ड स्याङचुरी घोषणा गर्दै जगदीशपुरको भाग्य चम्किएको दाबी गरेका मुख्यमन्त्री केसीले भने, ‘अब जगदीशपुर तालमा विदेशी पाहुना चरा मात्रै नभएर संसारभरका पर्यटक पनि आउँछन् । यहाँ आउनेहरुलाई अर्कै संसारमा आएजस्तो गरि प्रदेशले विकास गरेर देखाउँछ ।’
गफ गरेर मात्रै जनताको जिवनस्तर नवदलिने भन्दै उनलेे वर्ड
स्याङ्चुरी घाेषणा कार्ययोजनासँगै जगदीशपुरवासीकाे जिवनस्तर बदल्ने काम प्रदेशको बन मन्त्रालयले गर्ने बताए । जगदीशपुर ताललाई पर्यापर्यटकीय हिसाबले विकास गर्न खोजिएको भन्दै उनलेे नेपालमा अनेकौं ताल रहेको तर यसको महत्व अरुमा भेटाउन नसकिने बताए ।
‘ताल त नेपालमा अनेकौं छन् । जगदीशपुर फेवा ताल, नैनी ताल जस्तो भए के अर्थ रहन्छ र ? चराहरुको ताल भएकै कारण यसको महत्व बढी हुन पुगेको हो । हामी यहीँ गर्ने गरि अगाडी बढेका छौं, मुख्यमत्री केसीले भने, ‘अब आन्तरिक रोजगारीका बाटाहरु मात्र यहाँ खुल्ने छैनन्, देशकै नमुना जगदीशपुर ताल बन्ने छ ।’
प्रदेशको बन तथा वातारण मन्त्री सुरेन्द्र बहादुर हमालले जगदीशपुर तालमा आगामी बर्ष धेरै परिवर्तन भएको देख्न सकिने गरि काम हुनेमा विश्वास दिलाए । मन्त्रालयले धेरै सुझबुझ गरि बर्ड स्याङचुरी घोषणा गरेको भन्दै उनलेे यसले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री बीरबहादसर रानाले सुरूका दिनमा संचाईकाे प्रयाेजनका लागि ताल निर्माण गरिए पनि पछिल्लो समय चराहरूकाे राजधानीकाे रूपमा विकसित भएको भन्दै यसलाई बहुउपयाेगि तथा जनताको जिवननस्तर माथि उठाउने काममा उपयोग गर्नुपर्ने बताए । तालको संरक्षण र विकासमा स्थानीय जनताको महत्त्वपूर्ण भुमिका रहने भन्दै जुन उद्देश्यले ताललाई वर्ड स्याङ्चुरी घाेषणाा गरिएको हो साेही अनुसारकाे भाैतिक संरचना निर्माण गरिनुपर्नेमा जाेड दिए ।
प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराम शर्मा,नेपाल सरकारका पुर्व सचिव तथा वन तथा वातावरण विज्ञ विश्वनाथ ओली,डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदी,जगदीशपुर जलाधार बहु सराेकार मञ्चका अध्यक्ष ललित गुरूङ लगायतले जगदीशपुर तालको ऐतिहासिक र बहुआयामिक
महत्त्वकाे बारेमा जानकारी गराएका थिए ।
जगदीशपुर ताल अजीव अजीव चराहरुको घर हो । जहाँ उनीहरु चिसो छल्न आउने गर्छन् । यो तालमा हरेक वर्ष विश्वमा नै लोपोन्मुख मानिएका चराहरु समेत आउने भएकोले यो आफैंमा अजीव चराहरुको घरको रुपमा विकास हुँदै गएको छ । तालमा पेकिंग डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानी हाँस, सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला र सेतो गरुड जस्ता लापोन्मुख चराहरु आउने गर्छन् ।
एक सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ जगदीशपुर ताल । नेपालीभन्दा बाहिरबाट धेरै चराहरु आउने यो क्षेत्र नेपालकै सबैभन्दा धेरै चराहरु आउने सिमसार क्षेत्रको रुपमा समेत चिनिने गर्छ । अहिले रहेका कूल १० सिमसार क्षेत्र मध्येको एक यसलाई सन् २००३ मा विश्व सिमसारको सूचीमा राखिएको थियो ।
यो तालमा एक सय १८ भन्दा बढी प्रजातिका चराहरु पाइने दाबी छ ।
कार्यक्रममा मुख्यमन्त्री कुल प्रसाद केसी, बन मन्त्री सुरेन्द्र हमाल लगायतका अन्य मन्त्रालयका मन्त्री, राज्यमन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा जगदीशपुर तालमा एक कार्यक्रम गरि बर्ड स्याङचुरी घोषणा गरिएको हो ।
शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले जगदीशपुर ताललाई बर्ड स्याङचुरी घोषणा गर्ने निर्णय गरेको थियो । मन्त्रायलले बर्ड स्याङचुरी घोषणा गर्नुपूर्व आवश्यक तयारी, कार्यविधि बनाएको थियो । बन तथा वातारण मन्त्री सुरेन्द्र हमालले मन्त्रीपरिषदमा बर्ड स्याङचुरी घोषणाका लागि प्रस्ताव लगेका थिए ।






