बुटवल,३१ असार ।
बुटवलको मुख्य सडक खण्ड निर्माणको कामफेरि अलपत्र परेपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले असन्तुष्टि व्यक्त गरेका छन् ।
साढे ३ किलोमिटर सडक निर्माणमा ६ वर्षभन्दा बढी समय खर्चिने निर्माण कम्पनी र ताकेतानगर्ने डिभिजन सडक कार्यालय बुटवल र सडक विस्तार आयोजनाको भूमिकाप्रति बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले असन्तुष्टि व्यक्त गरेका हुन् ।

बुटवल उपमहानगरपालिकाले पटक पटक दबाब सिर्जना गर्दै अनुगमन गरेपछि केहीदिन सडक निर्माणको काम भएपनि डिभिजन सडक कार्यालय र सडक विस्तार आयोजनाले चासो नदिदा निर्माण कम्पनीले विभिन्न बहानामा काम रोकेको छ ।

काम रोकिएपछि उपमहानगरपालिकाका प्रमुख पाण्डेले वर्षायाम अघि नै काम पूरा गर्नुपर्नेमा विभिन्न बहानामा काम रोक्ने र काम रोक्नेलाई ताकेता नगर्ने डिभिजन सडक कार्यालय र विस्तार आयोजनाको भूमिकाले बुटवल क्षेत्रको मुुख्य सडकको दुर्दशा बनाएको बताए ।

‘यो सडक निर्माणको काममा भएको ढिलासुस्ती र लापरबाही देखेर म निर्वाचितभएर आउने बित्तिकै प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालय, विस्तार आयोजना, निर्माण कम्पनी,उद्योगी व्यवसायी र सरोकारवाला सहितलाई राखेर असार भित्र काम पूरा गर्ने गरी सहमति जुटाएका थियौं, उनले असन्तुष्टि व्यक्तगर्दै भने–तर, केहीदिन काम भयो, अनि उस्तै शैलीमा फर्कियो, यसको ठेक्का लगाउने, नियमन गर्ने सडक र विस्तार आयोजनाले चासो दिनुपर्ने हो कि होइन, त्यहाँका कर्मचारीले जे जिम्मेवारी लिएर बसेका छन्, त्यो जिम्मेवारी पूरा गर्नुपर्ने होइन र, बुटवललाई यो दुर्दशा बनाएर राख्न पाइन्छ?’

उनले काममा ढिलाई भएपछि आफुले निरन्तर अवलोकन र अनुगमन गरेर कामलाई तीब्रता दिए पनि निरन्तरता दिने काममा सडक डिभिजन र विस्तार आयोजनाले कुनै चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘यहीअसार मसान्तमा काम सक्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीको ठेक्काको म्याद सकिदैछ, उनले भने–काम पूरा गर्छु भनेको समयमा पूरा नगर्ने कम्पनीलाई नै म्यादथप गर्ने भन्ने सुन्दैछु, जुन समयमा काम पूरा गर्छु भनेको थियो, त्यो समय भित्र पूरा नगर्नेले फेरि थप गरिएको समयमा पूरा गर्छ भन्ने कुरामा कसरी विश्वास गर्ने ?’

बुटवल उपमहानगरपालिकाको पहलमा भएको सहमति अनुसार केहीदिन सडकका खाल्डा पुर्ने र पक्कीग र्ने काम शुरु भएपनि काम पूरा हुन सकेको छैन । भत्काएको सडक क्षेत्र र अलपत्र नालीका कारण वर्षा लागेपछि सडक हिलाम्मे छ ।

ठूला ठूला खाडलका कारण दैनिक साना सवारी दुर्घटना भइरहेका छन् । निर्माण कम्पनीले काम रोकेपछि बुटवलको अस्पताल लाईन, ट्राफिक चोक, मिलनचोक, राजमार्ग चौराहाजस्ता स्थानमा रहेका खाल्डाका कारण सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ ।
मुख्य सडक क्षेत्रका व्यवसायीहरुले सास्ती बेहोर्नुपरेको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू अस्तव्यस्त सडकका कारण कैयौं व्यवसायी विस्थापित भएको बताउँछन् ।

उनी भन्छन्–‘कोभिड १९ ले व्यवसाय थला परेको थियो, गोलपार्कदेखि चौराहासम्मका व्यवसायी धेरै विस्थापित भइसकेको अवस्था छ, बहालमा व्यवसाय गरिरहेकाहरु झनै पीडित भएको अवस्था छ ।’
उनले सडक निर्माणको कामनिर्धारित समयभित्रै पूरा गर्न निरन्तर दबाब दिए पनि सडक डिभिजन र विस्तार आयोजनाले गम्भीरतापूर्वक काम गराउन चासो नदेखाएको बताए ।

‘बुटवल उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपछि मेयरज्यूक ैपहलमा सिडिओ, ठेकेदार, सडक डिभिजन र विस्तार आयोजनासहित बसेर छिटै नै बाँकी रहेको पक्कीगर्ने भन्ने सहमति भएको थियो, केहीदिन त कामभयो,’–उनले भने–‘केहीदिनपछि फेरि उस्तै झारा टार्ने काम ठेकेदार कम्पनीले गरेको छ, सडक डिभिजन र सडक विस्तार आयोजनाले जति चासो देखाउनुपर्ने हो देखाएनन् ।’

पटक पटक थप भएको समयमा पनि काम पूरा नगरी ८० प्रतिशत काम बाँकी राख्ने निर्माण कम्पनीलाई कारबाही गर्नुको सट्टा डिभिजन सडक कार्यालय र बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना निर्माण कम्पनीको म्याद थपगर्ने तयारीमा पुगेका छन् ।
सार्वजनिक खरिद ऐनको बाह्रौं संशोधन भएपछि सोही व्यवस्था अनुसार ठेकेदारलाई अझै एक वर्ष म्याद थप्न सकिने भएको छ । यही आधारलाई टेकेर म्यादथप गर्न सकिने आयोजना काकार्यालय प्रमुख दीपक झाले बताए ।
उनले वर्षा शुुरु हुनअघि नै ठूला खाल्डा पुर्ने र दोहोरो यातायात सञ्चालन गर्न सकिने गरी ग्राबेल र ग्रिडिङ गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको बताए ।

‘हामीले पनि धेरैपटक निर्माण कम्पनीलाई ताकेता गरेका छौं, तर अनेक बहानाबनाएर काममा ढिलासुस्ती भएको छ, उनले भने–अब ढिलासुस्ती हुँदैन, वर्षाअघि नै दुवै लेनमा गाडी चल्ने गरी सम्याएर पानी जम्मा नहुने गरी सहज बनाउने काम हुन्छ ।’
उनले वर्षापछि मात्रै सडक पक्कीगर्ने काम शुरु हुने बताए । ‘वर्षाको समयमा खानेपानीका पाइप, विद्युतका पोल, सर्भिस लेनको काम, नालीको काम पूरा हुन्छ, उनले भने–त्यसपछि पक्की शुरु हुन्छ ।’

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो ।
दुई वर्षअघि नै सकिनुपर्ने कामपूरा नभएपछि ०७९ असार मसान्तसम्मम्यादथपभएको थियो ।
निर्माण कम्पनी द कञ्चनजंघा÷बिरुवा जेभीले अन्तिम पटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिँदैछ । तर सडकको भौतिक प्रगति हालसम्म करिब ३० प्रतिशत मात्रै छ ।

२०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । सो अवधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीको निवेदन अनुसार दोस्रो पटक म्याद थप भयो । २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मकालागि म्यादथप गरेको थियो । साढे तीन किलोमिटर सडक विस्तारको कामकालागि सुरुमा ४७ करोड २७ लाख रुपैयाँमा सम्झौता भएको थियो । निर्धारित समयमा निर्माण पूरा नभएपछि लागत बढेर ५३ करोड ९८ लाख रुपैयाँ कायम गर्ने सम्झौता भएको थियो । ठेकेदार कम्पनीले हालसम्म १३ करोड ६४ लाख रुपैयाँ भुक्तानी लगिसकेको बुटवल–बेलहियाव्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ ।