बुटवल,३१ असार ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको १२ औं अधिवेशनको तेस्रो बैठकमा गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित भएको हो ।
नगर प्रमुख रामकृष्ण खाँणले गणपुरक संख्या नपुगेकोले बैठक स्थगित भएको भन्दै दिउसो ४ बजे नगर सभालाई जानकारी गराएका हुन् ।
बैठक कक्षमा अधिकांश नगरसभा सदस्यहरूको सहभागीता रहे पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले हाजिरी नगरेका कारण गणपुरक संख्या नपुगेको हो ।
९१ जना नगर सभा सदस्य मध्ये ४३ जनाको मात्रै उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको जनाइएको छ ।
कार्यपालिकामा बहुमत रहेको नेकपा एमालेले नगर सभाको बैठकमा न्यायिक समिति गठनको एजेण्डा पनि समावेश गनुपर्ने माग राखेको तर उक्त एजेण्डा समावेश नभएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेकोले गणपुरक संख्या नपुगेको हो ।
गणपुरक संख्या नपुगेर बैठक स्थगित भएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष नारायण ढकालले एमालेले बहुमतको दम्भ देखाएर बैठकमा उपस्थित भएर पनि उपस्थिती पुस्तिकामा हस्ताक्षर नगरेको बताए ।
उपस्थिती पुस्तिकामा हस्ताक्षर चलिरहेका बेला उपप्रमुख जगेश्वरदेवी चौधरीले पुस्तिकानै आफ्नो नियन्त्रणमा लिएको उनको दाबी छ ।
नगरपालिकाका निवर्तमान प्रवक्ता समेत रहेका नेकपा एमालेका कार्यपालिका सदस्य सुरेन्द्र श्री ले भने गणपुरक संख्या नपुगेकाले बैठक स्थगित नभएको बताए ।
नगर सभाबाट न्यायिक समिति गठन गर्नुपर्ने आफुहरुको माग सुनुवाई नभएकोले नगर सभा सञ्चालनमा सहमति जुट्न नसकेको प्रतिक्रिया दिए ।
नेपाल बार एसोशियसन उच्च अदालत बुटवलका पुर्व अध्यक्ष महेन्द्र पाण्डेले स्थानीय तहमा सत्ता पक्ष र प्रतिपक्षको परिकल्पना नगरेको भन्दै बहुमत र अल्पमतको कुरा गर्न नहुने बताए ।
जुन दलबाट टिकट पाएर जिते पनि जितिसकेपछि सबै जनताको साझा जनप्रतिनिधि भएकोले सोही अनुसारको ब्यवहार गर्नुपर्नेमा विचार ब्यक्त गरे ।
बहुमत र अल्पमतको खेलमा लाग्दा वजेटमा असर पर्न सक्ने भन्दै उनले कसका कारण पालिकाको विकासमा कस्तो असर पर्यो भन्ने आवधिक निर्वाचनमा जनताले मुल्याङ्कन गर्ने बताए ।
नगर सभाको अर्को बैठक साउन एक गते बस्नेगरी स्थगित भएको हो ।






