बुटवल,३० असार ।
लुम्बिनी प्रदेशको बन वातावरण तथा भू–संरक्षण मन्त्रालयले एक वडाः एक पोखरी कार्यक्रम र बनसँग सेलिब्रिटी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बन क्षेत्रसँगै पर्यावरणको संरक्षणको लागि एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो ।

यस्तै कम खर्चिलो भूसंरक्षण कार्यक्रम तथा एक पालिका एक बन नर्सरी निर्माण गर्ने योजना बनाएको मन्त्रालयका सचिब दुर्गा बहादुर कार्कीले जानकारी दिए । मन्त्रालयले कपिलवस्तुको जगदिशपुर तालको दिगो संरक्षण र ब्यवस्थापनको लागि जगदिशपुर बर्ड स्याङचुरी कार्यक्रम घोषणा गर्ने भएको छ ।
यही साउन ३२ गते घोषणा कार्यक्रमको आयोजना गरीएको र यसबाट तालको संरक्षणसँगै स्थानीयको आयआर्जनमा थप टेवा मिल्ने उनले बताए ।

मन्त्रालयले आगामी आर्थिक वर्षमा ठुला रुख स्थानान्तरणका लागि ट्री स्पेड ट्रक खरिद तथा नरम प्रजाती विशेषको गुणस्तर प्रवद्र्धन प्रविधि भित्राउने, विकास सहयोग र बन क्षेत्रको खोल्साखोल्सी ब्यवस्थापन कार्यक्रम अगाडी बढाउने भएको छ ।
फ्रन्टलाईनमा खटिने वन रक्षक दुर्घटना बीमा कार्यक्रम तथा बन कर्मचारीहरुको शारिरीक तन्दुरुस्तीका लागि खुला जिम निर्माण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

बन पैदावारहरुको विक्रिवितरणबाट प्रदेश सरकारले ११ करोड बढी रकम आम्दानी गरेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै पिडितसँग प्रदेश सरकार कार्यक्रम मार्फत बर्दियामा हात्ति छेकबार निर्माण लगायतका काम भईरहेको र बन्यजन्तुको क्षतिको राहात स्वरुप २५ लाख रकम वितरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेशचन्द्र आचार्यले जानकारी दिए ।

यस्तै प्रदेश सरकारले २९ वटा रिचार्ज पोखरी निर्माण भएको २५ वटा सिमसार क्षेत्रहरुमा ब्यवस्थापनका काम भएको प्रवक्ता आचार्यले बताए । प्रदेश बन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालको उपस्थितीमा कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा मन्त्रालयले गौतमबुद्ध बृक्ष संरक्षण प्रबल पुरस्कार ३ वटा सामुदायिक वन र उत्कृष्ट वनकर्मीबाट ४ जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।
५१ हजार १ सय पुरस्कार राशीबाट रुपन्देहीको चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल १२, पाखुरे सामुदायिक वन तथा उपभोक्ता समूह रैनादेवी छहरा पाल्पा र बैजलपुर सामुदायिक वन तथा उपभोक्ता समूह बाणगंगा कपिलबस्तु पुरस्कृत भएका छन् ।

यस्तै २३ हजार राशीको पुरस्कारबाट डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत उप्रेन्द्र अर्याल, डिभिजन वन कार्यालय रोल्पाका वनरक्षक गगनसिंह गोसाई, कपिलबस्तु गौतमबुद्ध सामुदायिक वनका जमदार पर्शुराम थारु उत्कृष्ट वनकर्मी र मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्का पुरस्कृत भएका छन ।