बुटवल,२९ असार ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले महालेखा परीक्षकको कार्यालयले बेरुजु फस्र्यौट गर्न निर्देशन दिए पनि बेरुजु बढ्नु दुखद भएको बताएका छन् ।
बुधबार प्रदेश प्रमुखको कार्यालयमा महालेखा परीक्षकको बार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले महालेखा परीक्षकको कार्यालयले प्रत्येक बर्ष बेरुजु फस्र्यौट गर्न र बेरुजु नआउनेगरी काम गर्न सुझाव दिए पनि बेरुजु नघट्नु दुखद भएको बताएका हुन् ।
उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन कार्यान्वयन गराउनेतर्फ महालेखा परीक्षकको कार्यालयले थप दबाव बढाउनुपर्नेमा जोड दिए ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमाथी सदनमा ब्यापक छलफल गरेर बेरुजु नहुनेगरी काम गर्ने वातावरण बनाउनु पर्ने उनको भनाई छ ।
बुधबार बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नायव महालेखा परीक्षक नारायण मरासिनीले महालेखा परीक्षकको ५९ औं तथा लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७७÷०७८ को चौथो बार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
बार्षिक प्रतिवेदन पेस गर्दै नायव महालेखा परीक्षक मरासिनीले आर्थिक गत बर्ष १ अर्ब ३२ करोड ११ लाख ५६ हजार बेरुजु भएकोमा २०७७÷०७८ मा २५ करोड ६५ लाख ७४ हजार सम्परीक्षण भई १ अर्ब छ करोड ४५ लाख ८२ हजार बाँकी रहेको र यो बर्ष ६४ करोड २१ लाख ५८ हजार थप भई १ अर्ब ७० करोड ६७ लाख ४० हजार पुगेको जानकारी गराए ।






