बुटवल, २२ असार ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धिले पछिल्लो समय ट्रक व्यवसायको पेशा गम्भिर स्थितिमा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलद्धारा नेपाल ट्रक यातायात व्यवसायी महासंघको महाधिवेशनवाट निर्वाचित पदाधिकारी तथा स्थानीय निकाय निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधि एवम् विभिन्न संघ संस्थाबाट निर्वाचित व्यक्तिहरुलाई सम्मानमा आयोजित कार्यक्रममा वोल्ने बक्ताहरुले उक्त गुनासो गरेका हुन् ।
राज्यले भाडादर प्रणालीलाई कायम नगर्दा घाटादर दैनिक रुपमा ओरालो लाग्दै गएको भन्दै व्यवसायीहरुले कहिलेकाहीँ ट्रक बेचौ कि भन्ने सोंचमा समेत पुग्ने गरेको बताए ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सरकारले यातायात व्यवसायीको पक्षमा काम गर्नेहरुलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात क्षेत्रको खस्कदो अवस्थालाई सुधार गर्न चुनौति संगै अवसर पनि रहेको भन्दै सरकारले तय गरेको भाडादर कायम गर्नुपर्नेमा जोड दिए ।
यातायात क्षेत्रमा हिजोका दिनमा सह–चालक हुँदै चालक भएका हाल पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बढ्दो महंगी र घट्दो भाडादरले नाफा भन्दापनि गाडीको खर्च समेत धान्न गाह्रो भएको गुनासो गरे ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितका अध्यक्ष यम प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने। सचिव उमेशचन्द्र मजगैया, संघका पूर्व अध्यक्ष गुप्त बहादुर केसी, अखिल नेपाल फूटवल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार), जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष भुपेन्द्र वहादुर थापा क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, महासचिव हरि प्रसाद कंडेलले थला पर्दै गएको व्यवसायलाई चलायमान बनाउन व्यवसायीहरु बीचमा एकता जरुरी रहेको बताए ।






