बुटवल,२० असार । आर्थिक बर्ष २०७८/०७९ सकिन केही दिन मात्रै बाँकी रहदा लुम्बिनी प्रदेश सरकारले कूल वजेटकाे ५५.८० प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको असार १८ गतेसम्म आईपुग्दा चालु तर्फ ६७.५१ प्रतिशत र पुँजीगत तर्फ ५४.३९ प्रतिशत गरी कूल बजेटको ५५.८० प्रतिशत मात्रै खर्च गर्न सफल भएको हो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले ४० अर्ब ९५ करोड ,९७ लाख बजेट बिनियोजन गर्दा आर्थिक मसान्त सकिनै लाग्दा बल्ल २२ अर्ब,८५ करोड ५१ लाख बजेट मात्र खर्च गरेको छ । यसरी हेर्दा प्रदेश सरकारले आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा आधा बजेट मात्र खर्च गरेको छ भने पछिल्लो दिनमा खर्चको दर ह्वात्तै बढेको छ । प्रदेश सरकारले १८ दिनको अवधिमा १०.४७ प्रतिशत बजेट खर्च गरेको छ । असार मसान्त नजिक आउँदा प्रदेशमा खर्चको दर बढ्दै गएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए ।
मन्त्रालयगत रुपमा खर्चको विवरण हेर्दा कानून,महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सबै भन्दा कम २.६७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ भने सबै भन्दा धेरै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले ७७.०३ प्रतिशत बजेट खर्चं गरेको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ६०.०६ प्रतिशत, आर्थिक मामिला तथा सहकारी मन्त्रालयले २६.७१ ,उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले ५८.८५, कृषि खाध्य प्रविधि तथा भूमि ब्यवस्था मन्त्रालयले २७.२६, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले ६३.६६, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले ३६.७७, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयले ५८।९७, भौतिक पूर्वाधार विकास मन्त्रालयले ५२.५२, पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालयले ५६.०७, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्तालयले ५३.३४, ,श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले ४८.९३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । गत अर्थिक वर्षमा प्रदेश सरकारले ८८.७६ प्रतिशत बजेट खर्च गरेको थियो । तर यो वर्ष भने सरकारले खर्चको दर बढाउन सकेन । प्रदेश सरकारले यो आर्थिक वर्षमा प्रतिस्पथापन बजेट ल्याउँदा खर्चमा केही कमी आएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।
प्रदेश सरकारले पुँजीगत खर्चको दर बढाउन नसक्दा विकास निर्माणका आयोजनाहरु प्रभावित भएका छन ।
असारमा गरिने विकास निर्माणका काम गुणस्तरहीन हुने गरेको गुनाशो आउँने गरेको छ ।






