बुटवल,१७ असार ।
लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पूर्मती ढेँगाले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर हुनपर्ने बताएकी छन् ।

प्रदेशको श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयद्धारा शुक्रबार बुटवलमा आयोजित श्रमिक र रोजगारदाताबीच सामाजिक सूरक्षा तथा श्रम सम्बन्धी समन्वयात्मक कार्यक्रममा बोल्दै मन्त्री ढेंगाले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर भएमात्रै दुबै पक्षको हित हुने बताएकी हुन् ।
रोजगारदाता कम्पनी र श्रमिकका समस्या समाधान गर्न तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको भन्दै उनले त्यसका लागि मन्त्रालयले आवस्यक पहल गर्ने बताइन् ।
हरेक क्षेत्रमा अति राजनीतिकरण बढेको भन्दै उनले यो पार्टी वा त्यो पार्टी नभनेर समस्या समाधानमा लाग्ने प्रतिवद्धता ब्यक्त गरिन् ।
कार्यक्रममा श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयका सचिब दीपक नेपालले बिगतको तुलनामा यातायात ब्यवस्था कार्यालयको सेवामा धेरै सुधार भएको बताउदै लाइसेन्स बितरण कार्यलाई थप सहज बनाइएको दाबी गरे ।
यातायात ब्यवस्था कार्यालयलाई डिजिटल प्रविधिमा लैजाने कार्यको सुरुवात भएको भन्दै उनले मन्त्रालयले नेपालमै पहिलो डिजिटल ट्रायल सेन्टर निर्माणका लागि वजेट विनियोजन गरेको जानकारी गराए ।
सो अवसरमा मन्त्रालयका सचिब नेपाल,श्रम तथा रोजगार कार्यालय बुटवलका कारखाना निरीक्षक कमल पौडेल,जिफण्टका केन्द्रीय सदस्य हरी कार्की,रुपन्देही उद्योग संघका कार्यालय प्रमुख यादव भण्डारीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पश्चिम नेपाल बस कम्पनीका सञ्चालक नारायण घिमिरे,समाजवादी ट्रेड युनियन रुपन्देहीका अध्यक्ष शिवकुमार यादव,उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी मन्त्रालयका अधिकृत लक्ष्मण लम्साल लगायतले आ आफ्नो भनाई राखेका थिए ।






