बुटवल १५ असार ।
रूपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले बुटवलको कालिका पथलाई पर्यटकीय गन्तव्य वनाउन उज्यालो शहरको रुपमा बिकास गर्नुपर्ने बताएका छन । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि उज्यालो शहर वनाउनका लागि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले तर्क गरेका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहो २४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजिक कार्यक्रममा व्यवसायीहरुले उक्त कुरालाई जोड दिएका हुन् । आधुनिकताको बिकास र समयको माग अनुसार यस क्षेत्रमा आवश्यक सिसिटिभी क्यामेरा तथा सडक बत्तीको व्यवस्था गरि रात्रिकालिन बजार सञ्चालन गर्न सुरक्षा निकाय, स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नु पर्ने उनीहरुको माग छ ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले व्यवसायीहरुको माग सम्बोधनका लागि स्थानीय सरकार तयार रहेको बताइन् ।
कालिका पथलाई उज्यालो शहरको रुपमा बिकास गर्नका लागि उपमहानगरले आवश्यक पूर्वाधार बिकासमा जोड दिने उनले प्रष्ट पारिन् ।
यस क्षेत्रलाई उज्यालो शहर र बजार बनाउनका लागि सबै राजनीतिक दलहरुको आफ्नो चुनाबी घोषणापत्रहरुमा समेत उल्लेख गरेको बताउँदै उनले घोषणापत्र कार्यान्वयन हुनु पर्नेमा समेत जोड दिइन् ।

यसैगरी उपप्रमुख अर्यालले मर्यादित र कानुनी दायरामा रहेर होटल व्यवसाय सञ्चालन गर्न आग्रह गरिन् । बजार अनुगमन तथा त्यसको कार्यान्वयन आफ्नो प्रमुख जिम्मेवारी रहेको भन्दै मर्यादा र कानून विपरित जानेहरुका लागि कडा रुपमा प्रस्तुत हुने उनले चेतावनी दिइन् ।
कार्यक्रममा बोल्दै संघका संस्थापक तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष सचिव माधव नेपालले बुटवलको कालिका पथलाई रात्रिकालिन बजार बनाउनका लागि आवश्यक लगानी गर्न आफूहरु तयार रहेको बताए ।

व्यवसायीहरुले नै मिलेर सामुहिक रुपमा लगानी गरि सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान तथा सडक बत्तीको व्यवस्था गर्न सकिने बताउँदै उनले सुरक्षा लगायतका अन्य सुविधा सरकारले उपलब्ध गराउन सक्नु पर्ने बताए ।

उनले बुटवलको पहिचान र पर्यटन क्षेत्रको बिकासका लागि रातको समयमा कोही पनि अलपत्र पर्नुपर्ने बाध्यताको अन्त्य गर्न कालिका पथलाई उज्यालो शहरको रुपमा बिकास गर्न आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष रामप्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी, बुटवल ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम महासचिव माधव कुमार खनाल लगायतले बोलेका थिए ।

सो अवसरमा क्यान्सर पीडित व्यवसायीहरु बिकास ढकाल र दुर्गा खनालको परिवारलाई जनही २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।