बुटवल १५ असार ।
बुटवल उपमहानगरपालिकाले धानदिवसको अवसरमाकिसानको खेतमा रोपाइँ गरेर मनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्षसहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानको टोलीले बुटवल १९ का तिलक थारुको खेतमा रोपाइँ गरेको हो ।
वि.सं २०६१ साल मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्र संघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
रोपाइँ कार्यक्रम अघि आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमा विकास गर्ने बताए ।
उनले सो क्षेत्रमा उत्पादनहुने तरकारी, फलफूलसहितका कृषिजन्य उत्पादनलाई भैरहवा विमानस्थलबाट विदेश लग्ने गरी उत्पादनमा जोड दिन स्थानीयलाई आग्रह गरे ।
‘यो क्षेत्रलाई कृषिउत्पादनमा अगाडि बढाउनुपर्छ, यहाँकाबासिन्दाले चासो नदिने र व्यवसायिक उत्पादन शुरु नगर्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं, उनले भने–यहाँ उत्पादन भएको तरकारी, फलफुल यहीँ खपतगर्ने र विदेश निर्यात गर्ने गरी तपाइँहरुले चासो दिनुहोस्, उपमहानगरपालिकाले के कसरी साथदिनुपर्ने हो दिन्छ ।’
रोपाइँ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रवक्ता शिव राना, वडा नं. १९ का अध्यक्ष चन्द्रसिंह थापासहितका वडाध्यक्ष, सदस्यहरु सहभागी थिए ।






