बुटवल,१५ असार ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीकाे राजीनामा स्वीकृत भएको जानकारी गराएपछि लुम्बिनी प्रदेश सभाको बैठक सुचारु
भएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले यही असार १२ गते दिएको राजिनामा आज स्वीकृत भएको सदनलाई जानकारी गराएपछि प्रदेश सभाको बैठक सुचारु भएको हाे ।

यसअघि आज दिउँसो बसेकाे लुम्बिनी प्रदेश सभाको दशाैं अधिवेशनकाे १९ औ बैठकको सुरुमै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली घटनाको बिषयमा सरकारकाे धारणा माग गरेका थिए ।
जेठ ३१ गते दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिटमा संलग्न रहेको भनी उनि विवादमा तानिएकी थिइन् ।

घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।
छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनले राजीनामा दिएकी हुन् ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो।