बुटवल,१ असार ।
बुटवल उपमहानगरपालिकाकाे आयोजना र नेपाल व्यसायिक कलाकार संघ रूपन्देहीकाे सहकार्यमा सञ्चालित तीन दिने भित्ते चित्रकला लेखन कार्यक्रम समापन भएको छ ।

जेठ ३० गतेदेखि सुरु भएको बुटवलको ऐतिहासिक,धार्मिक, कला संस्कृति र पुरानो बुटवलको चित्रसहितकाे भित्ते चित्रलेखन कार्य आज एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल बजारको साैन्दर्यकरण अभियान अन्तर्गत हाललाई बुटवलको भुड्की चाेकदेखि सडक डिभिजन कार्यालयकाे गेटसम्म भित्ते चित्रलेखन कार्यक्रम गरिएको भन्दै यसले बजारको साैन्दर्यकरणसँगै स्थानीय कलाकारकाे संरक्षणमा महत्त्वपूर्ण याेगदान पुग्ने विश्वास व्यक्त गरे ।
आगामी दिनमा यस्ता कार्यक्रमलाई थप बिस्तार गर्ने योजना रहेको भन्दै नगर प्रमुख पाण्डेयले भित्ते चित्रलेखनले बुटवलको ऐतिहासिक र सांस्कृतिक पहिचान उजागर हुने बताए ।
नेपाल व्यसायिक कलाकार संघ रूपन्देहीका अध्यक्ष दीलिप रसाइलीले बुटवल उपमहानगरपालिकाकाे यस्तो कार्यले बुटवलको साैन्दर्यकरण हुनुकासाथै स्थानीय कलाकारकाे संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
भित्ते चित्रलेखन कार्यमा स्थानीय २१ जना कलाकारकाे सहभागीता रहेको बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्धन शाखा प्रमुख अरबिन्द पाण्डेले जानकारी दिए ।






