बुटवल,७ भदौ ।
भैरव अटोमोबाइल्स प्रालि ले बुटवलमा बजाज चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल सार्वजनिक गरेको छ । नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बुटवलको कालिकानगरस्थित भैरव अटोमोबाइल्स प्रालिमा आइतबारबाट चेतक सी २५०१ र सी ३५०३ दुई मोडलको बिक्री सुरू गरेको हो ।

चेतक सी २५०१ को मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ र सी ३५०३ को ३ लाख ३९ हजार ९०० रुपैयाँ रहेको हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका महाप्रबन्धक रामेश्वर घिमिरेले बताए । नेपाली राइडरहरूको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर यी फरक डिजाइन र विशेषतायुक्त इलेक्ट्रिक स्कुटर बजारमा ल्याइएको उनकाे भनाई छ ।

सी २५०१ तुलनात्मक रूपमा चेतकको सस्तो र किफायती संस्करण हो । कम्पनीले यसलाई पूरै नयाँ चेसिस फ्रेममा तयार पारेको छ । कम्पनीले यसमा २.५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले एक पटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटर ४ घण्टामा फुल चार्ज हुनेछ ।

यसमा एलइडी डीआरएल, फ्ल्याट फुटबोर्ड र यू आकारको एलइडी टेललाइटका साथै गोलाकार एलइडी हेडल्याम्प पाउन सकिन्छ । यो मोडलको तौल मात्र १०७ किलोग्राम छ । यसको सिट मुनि २५ लिटर क्षमताको स्टोरेज पाइन्छ । चेतक सी २५०१ मा एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, यूएसबी चार्जिङ पोर्ट, हिल होल्ड असिस्ट, रिभर्स, इको र स्पोर्ट मोड दिइएको छ ।

त्यस्तै, चेतक सी ३५०३ लाई भने कम्पनीले प्रिमियम मोडलका रूपमा निर्माण गरेको हो । यसमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा १५१ किलोमिटरसम्म रेन्ज दिने आइडिसीले प्रमाणित गरेको छ । यसको टप स्पीड ७० किमी प्रतिघण्टा रहेको छ । यसमा ३५ लिटरको ठुलो बुट स्पेस, कलर एलसीडी डिस्प्ले, फुल मेटल बडी, हिल होल्ड असिस्ट, इको र स्पोर्ट राइड मोड, ब्लुटुथ कनेक्टिभिटी, कल तथा नोटिफिकेसन, म्युजिक कन्ट्रोल, रिभर्स मोड, कम्बाइन्ड ब्रेकिङ सिस्टम, पूरा एलइडी लाइटलगायत फिचर छन् । गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि यी दुई नयाँ मोडलमार्फत बजाजले ग्राहकवर्गको थप आवश्यकता पूरा गर्ने भैरव अटोमोबाइल्स प्रालिका अध्यक्ष कृष्णबहादुर खड्काकाे विस्वास छ ।