कपिलवस्तु,८ भदौ ।
कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच जना महिलालाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागुऔषध बरामद गरेको हो ।

जाँचका क्रममा उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर, पर्साका चुमा लामिछाने रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । बरामद पदार्थको परीक्षण तथा घटनासँग सम्बन्धित अन्य व्यक्ति र सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको उनले बताए ।