बुटवल,१२ असार ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यहरूले कृषि उत्पादन बृद्वि गरी आत्मनिर्भर हुन सिंचाइमा लगानी बढाउनु पर्नेमा जाेड दिएका छन् ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको
विनियोजन विधेयक, २०७९ को समूहीकृत छलफलमा सहभागी हुदै प्रदेश सभा सदस्यहरूले कृषि उत्पादन बृद्वि नगरी मुलुक आत्मनिर्भर बन्न नसक्ने भन्दै त्यसका लागि सिंचाई सुविधा उपलब्ध गराउनुपर्नेमा जाेड दिएका हुन् ।

आज बसेकाे प्रदेश सभाको दशाैं अधिवेशनकाे सोह्रौ बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले उत्पादन बृद्वि गर्न सिंचाइकाे महत्त्वपूर्ण भुमिका रहने भए पनि प्रदेश सरकारले सिंचाइमा कम वजेट विनियोजन गरेको गुनासो गरे ।
प्रमुख प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारले ल्याएको वजेट सन्तुलीत र न्यायाेचित नभएको भन्दै आलोचना गरेका थिए भने सत्ता पक्षका प्रदेश सभा सदस्यहरूले वजेट सन्तुलीत र न्यायाेचित रहेको दाबी गरेका थिए ।

आजको बैठकमा प्रदेश सभा सदस्य कुलप्रसाद पाेखरेल,तुलाराम घर्ती,नारायण प्रसाद आचार्य,रामजी प्रसाद घिमिरे,युवराज खनाल ,जालपा भुसाल,रेवतिरमण शर्मा,सरस्वती गाैतम,भगवती देवी भण्डारी,निर्मला मुडभरी,तारा जिसी लगायतले विनियोजन विधेयकमाथीकाे छलफलमा सहभागीता जनाएका थिए ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव र शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँले विनियोजन विधेयक, २०७९ को छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

प्रदेश सभाको अर्को बैठक भाेली जेठ १३ गते साेमबार मध्याह्न १२ बजे बस्ने छ ।