बुटवल,७ असार । सञ्चारमैत्री नीति तथा कार्यक्रम र बजेट ल्याउन सराेकारवालाहरूले बुटवल उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।
बुटवल उपमहानगरपालिकाले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट सम्बन्धनमा रुपन्देहीका संचारकर्मीहरुसँगकाे छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जाेड दिएका हुन् ।

बुटवल पत्रकारिताको केन्द्रविन्दु भएकाले बुटवललाई पत्रकारिताको हबको रुपमा विकास गर्ने गरी उपमहानगरले आवश्यक बजेट बिनियोजन गर्नुपर्ने उनिहरूकाे सुझाब थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगर नीति कार्यक्रम र बजेट संचारमैत्री बनाउन प्रतिबद्ध रहेको बताए । बुटवल उपमहानगरले बनाउने नीति तथा कार्यक्रम र बजेटमा संचार क्षेत्र र संचारकर्मीहरुका समस्यालाई समाधान गर्नका लागि समस्याहरु के कस्ता छन् र ती समस्यालाई समाधान गर्नका लागि बजेट निर्माणको पूर्वसन्ध्यामा संचारकर्मीहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।

बुटवल उपमहानगरपालिकाकि उप प्रमुख सावित्रा देवी अर्यालले पनि पत्रकारहरूबाट महत्त्वपूर्ण सुझाव आएको भन्दै सुझावलाई सकेसम्म सम्बाेधन गर्ने बताइन् ।
नगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षता, उपहानगरपालिकाका सूचना अधिकारी मित्रमणि खनालको संचालनमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेखरेल,महासंघका सल्लाहाकार बिनाेद पहाडी लगायतले आ आफ्नो सुझाव दिएका थिए ।