बुटवल,४ असार ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्डद्धारा बुटवलमा आयोजित दुई दिने राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ्ग कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.विष्णु प्रसाद भट्टराइको सभापतित्व र लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज (सिद्धिचरण) भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा बोर्डका सदस्य आदित्य पराजुली,साना तथा मझौला ब्यवसायी भवानी खतिवडा लगायलले नेपालको चिया विश्वका कुनै पनि देशका चिया भन्दा कम गुणस्तरको नभए पनि प्रचार प्रसारको अभावमा नेपालीहरुले स्वदेशी चिया प्रयोग नगर्ने गरेको गुनासो गरे ।
उनिहरुले राज्यले सहयोग गरे हाल ४ अर्बको हाराहारी निर्यात हुँदै आएको चिया १० अर्बको आयात हुने बताए ।
नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धनका लागि आयोजित चिया प्रदर्शनी तथा टि टेस्टिङ्ग कार्यक्रममा देशका बिभिन्न ठाउँका २५ चिया उद्योगका स्टलहरु सहभागि भएको बोर्डले जनाएको छ ।
प्रदर्शनीमा अवलोकनकर्ताको सहभागिता कम भएका कारण चियाको कारोबार भने खासै नभएको एक चिया उद्योगिले बताए ।
दुई दिने प्रदर्शनीको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूल प्रसाद केसीले उद्घाटन गरेका थिए ।






