बुटवल,४ असार ।
गृहमन्त्री वालकृष्ण खाँणले भूमिआयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिएका छन् ।
उनले भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिए ।
राष्ट्रिय भूमि आयोगद्धारा शनिबार बुटवलमा आयोजित आयोगका लुम्बिनी प्रदेश स्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रकृया पुरा गरेर जतिसक्दो चाडो भूमिहिनलाई जग्गा धनी पुर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
पुर्जा वितरण गर्दा कुन पार्टीलाई फाइदा पुग्छ भन्ने कुरालाई बिर्सेर बसोबास र भोगाधिकारका आधारमा जग्गाधनी दर्ता प्रमाण पुर्जा बितरण गर्न पनि उनले आग्रह गरे ।
यसअघिको आयोगलाई कुनै राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा बिघटन गरेको नभई गठन भएको लामो समयसम्म पनि काम गर्न नसकेकोले बिघटन गर्नुपरेको बताए ।
मन्त्री खाँणले स्थानीय तहका जनप्रतिनीधिहरुलाई पनि आयोगका कामकारवाहीमा सहयोग गर्न आग्रह गरे । ‘सरकारले के गर्नु पर्छ, बजेट कति चाहिन्छ, सुरक्षा व्यवस्था मिलाउनु पर्ने हो की, सबै काम गर्न सरकार तयार छ, जतिसक्दो चाडो भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा बितरण गर्नुस् ।’ गृहमन्त्री खाँणले भने–‘भूमिहिनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको पनि ज्यादै ठूलो सहयोग चाहिन्छ, स्थानीय जनप्रतिनीधिहरुलाई म आग्रह गर्न चाहन्छु– पूर्ण रुपमा सहयोग गर्नुहोला ।’ उनले भूमिहिन सम्बन्धि सबै समस्या समाधान गरेर यो समस्या सदाका लागि अन्त्य हुने पनि विश्वास व्यक्त गरे ।
त्यस्तै प्रतिनीधि सभा सदस्य मिन विश्वकर्माले आयोगले भूमिहिन सुकुम्बासीहरुले उपभोग गर्दै आएको जग्गाको स्वामित्व प्रदान गरेर उसलाई त्यो जग्गाको मालिक बनाएर यो समस्या सदाका लागि अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले भूमिहीन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा बितरण गर्ने कार्यमा प्रदेश सरकारको तर्फबाट आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
आयोगका केन्द्रीय अध्यक्ष केशवप्रसाद निरौलाले नेपालमा भूमिहिन समस्याको अन्त्य गर्नेगरी आयोगले काम गरेको बताउँदै आगामी आर्थिक वर्षको अन्त्य सम्ममा सबै भूमिहिनलाई पुर्जा वितरण गरिसक्ने बताए ।
त्यस्तै आयोगका उपाध्यक्ष नरेन्द्र खड्काले यसअघिको आयोगले सबै काम सम्पन्न गरी जग्गाधनी प्रमाण पुर्जा बितरण गर्ने तयारी रहेको अवस्थामा आयोग बिघटन भएको भन्ने प्रचार झठो रहेको दाबी गर्दै पुरानो आयोगले त्यस सम्बन्धी कुनै काम अगाडी नबढाएको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलमा लामो समयदेखि सुकुम्बासी तथा अब्यवस्थित बसोबासको समस्या रहेको भन्दै आयोगले जतिसक्दो छिटो जग्गाधनी प्रमाण पुर्जा बितरण गर्ने ब्यवस्था मिलाइदिन आग्रह गरे ।
उनले बुटवलको ज्योतिनगर पहिरो नियन्त्रण,तिनाउ–दानव करिडोरबाट बिस्थापितहको पुनस्र्थापना र मोतिपूर औद्योगिक क्षेत्रले ओगटेको निजि जग्गा जग्गाधनीलाई उपलब्ध गराउने ब्यवस्था मिलाउन पनि गृह मन्त्री खाँणसँग आग्रह गरे ।
त्यस्तै भूमि आयोग रुपन्देहीका अध्यक्ष हरीबहादुर आचार्य क्षेत्रीले कतिपय स्थानीय तहले आयोगसँग सम्झौता नगरेका कारण काम गर्न नसकिएको भन्दै रुपन्देहीको देवदह नगरपालिकाले सम्झौता गरेकोले देवदहमा धेरै काम सम्पन्न भइसकेको जानकारी गराए ।
अवसरमा भूमिहिनलाई पुर्जा वितरण गर्दा के कस्ता कुराहरुलाई ध्यान दिनुपर्छ भन्ने विषयमा भएका नीतिगत तथा कानुनी प्रकृयाका बारेमा आयोगका सूचना अधिकारी उपसचिव मणिप्रसाद रेग्मीले सहजिकरण गरेका थिए ।






