बुटवल,२ असार ।
लुम्बिनी प्रदेशको उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वीर बहादुर रानाले जनप्रतिनिधि र कर्मचारीमा काम गर्ने दृढ इक्षा शक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने बताएका छन् ।

पञ्चायतकालमा सुरु भएर राेकिएकाे पाल्पाको कचल फाँट सिंचाइ आयोजनाकाे बिहीबार उद्घाटन गर्दै मन्त्री रानाले जनप्रतिनिधि र कर्मचारीमा काम गर्ने दृढ इक्षा शक्ति भए जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण कचल फाँट सिंचाइ आयोजना ले पुष्टि गरेको बताए ।

लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारा साकार पार्न उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयले कृषिको विकास सिंचाइ प्रणालीमा सुधार अभियान सुरु गरेको बताउदै मन्त्री रानाले साेही अभियान अन्तर्गत मन्त्रालयले सुरु भएको लामो समयसम्म पनि पूरा हुन नसकेको कचल फाँट सिंचाइ आयोजना सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिएको उल्लेख गरे ।

ब्यवस्था परिवर्तन भए पनि काम गर्ने ताैर तरिका र पुरानो पद्धति कायमै रहेकोले मुलुकमा ब्यवस्था परिवर्तन भए पनि आम नेपाली जनताको जिवनस्तरमा परिवर्तन आउन नसकेको भन्दै उनलेे अब शब्द जाल र अभिनय नभएर ब्यवहारमै काम गरेर देखाउनुपर्ने समय आएको बताए ।

कृषि प्रधान मुलुक नेपालमा अर्बौंकाे खाद्यान्न आयात गर्ने अवस्था आउनु दुखद भएको बताउदै मन्त्री रानाले कृषि उत्पादन बृद्वि गरेर आयात प्रतिस्थापन गर्ने उदेश्यले प्रदेश सरकारले कृषि क्षेत्रमा धेरै वजेट विनियोजन गरेको जानकारी गराए ।

आयोजना सम्पन्न गर्न राज्यको ठूलो धनराशि खर्च भएको भन्दै उनलेे यसको भरपूर उपयोग गरेर कचलवासीले फाइदा लिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगरले सुरु भएर लामो समय अलपत्र रहेको आयोजना सम्पन्न हुनु आफैमा महत्त्वपूर्ण रहेको भन्दै आयोजनाबाट कचलवासीकाे जिवनस्तर माथि उठ्ने विश्वास ब्यक्त गरे ।

कचल फाँट सिंचाइ उपभोक्ता समितिका अध्यक्ष जाेगलाल सुर्यवंशीकाे सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दीपक घिमिरे,पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त,तिनाउ गाउपालिका अध्यक्ष प्रेम बहादुर श्रेष्ठ,उपाध्यक्ष लालबहादुर थापा,सिंचाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख टंक बहादुर केसी,कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी,निर्माण ब्यवसायी टाेप बहादुर रायमाझी,उपभोक्ता समितिका सचिव रेवन्त बहादुर छहरी लगायतले सिचाइ आयोजनाकाे महत्त्व र यसबाट लिन सकिने फाइदाका बारेमा आ आफ्नो भनाइ राखेका थिए ।

२०४३/०४४ सालमा ३ करोड लागतमा सम्पन्न गर्ने लक्ष्य सहित सुरु गरिएको आयोजना सम्पन्न गर्न १३ करोड ९५ लाख ११ हजार १ सय रूपयाँ लागतमा सम्पन्न भएको हो ।