काठमाडौं,१६ जेठ । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको हो ।
स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेकाे नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । ,
प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले दुर्घटनास्थलमा सानो हेलिकोप्टर पठाउने तयारी भइरहेको उनले बताए ।
यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घटनामा परेको जहाज
आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।
आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि खाेजिकार्य स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।






