बुटवल,६ जेठ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवामा जेठभित्र वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने बताएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन यही जेठ महिनाभित्रै भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना गरिने उनले बताए ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघद्धारा शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

उनले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनिका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायीसहित सरोकारवलाहरुले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रकृया भैरहवाबाटै पूरा हुनुपर्ने माग गरेका थिए ।

यसअघि मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रमिक सहायता कक्षको पनि अवलोकन गरेका थिए ।

विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखी सम्मानजनक व्यवहार गर्न मन्त्री श्रेष्ठले विमानस्थल प्रशासनलाई निर्देशन दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन गर्नुपर्ने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठ सहितको टोली शुक्रबार भैरहवा आएको भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल कार्यालयले जनाएको छ ।