बुटवल,३ जेठ ।
२५६६ औं बुद्ध जयन्ती को अवसरमा लुम्बिनीबाट बेबि बुद्ध कपिलवस्तुको तिलौराकोटमा लगिएको छ ।
गौतमबुद्ध लुम्बिनीमा जन्मेको भोली पल्ट मायादेवीले तिलौराकोट लगेको सम्झनामा आज रथयात्रा गरि बेबि बुद्धलाई तिलौराकोट लगिएको हो ।
२०४६ साल सम्म लुम्बिनीमा पनि खासै प्रचार नभएको भएपनि अहिले गुरुयोजना पूरा हुन लागेको पूर्व संस्कृति तथा पर्यटन मन्त्री दिपकुमार उपाध्यायले बताए ।
लुम्बिनीको विकास सँगै तिलौराकोट, रामग्राम र देवदहको विकास भएपछि मात्रै लुम्बिनीमा पर्यटनको बसाई लम्बिने उपाध्यायले बताए ।
तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गरि गुरुयोजना बनाएर अगाडि बढाउने कार्यक्रम तय भएकोले छिट्टै नै विकासले गतिलिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।
२५६६ औं बुद्ध जयन्ती मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदि लुम्बिनी आएको र भारतको बोधगया, कुसिनगर र सारनाथ आएका बुद्धिष्टलाई लुम्बिनी आउने वातावरण तयार पार्ने कुरामा मन्त्री सकारात्मक भएको कोषाध्यक्ष भट्टराईले बताए ।
प्राचीन कपिलवस्तु प्रचार अभावले सिमित घेरामा रहेकोले सम्बन्धित निकाय एकताबद्ध भइ लाग्नु पर्ने नेकपा एकीकृत समाजवादी कपिलवस्तु उपाध्यक्ष गिता अञ्जानले बताइन् । ७ बुद्ध रहेको कपिलवस्तु प्रचार नहुँदा पछाडि परेको उपाध्यक्ष अञ्जानको भनाई छ ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकोले लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राममा बौद्धिष्ट पर्यटकको आगमन बृद्धि हुने अपेक्षा गरिएकोे छ ।






