बुटवल,२७ बैशाख । बुटवलमा गत १३ गते भएको सुन चोरी घटनामा संलग्न भएको आरोपमा ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत साइ एन्क्लेव, गोमती कलोनी, लखनउ बस्ने ३५ बर्षिय मोहद जिशान खाँन, भारत जौहरी मोहल्ला चौक, लखनउका ३६ बर्षिय मोहसिन अब्दुल्लाह खाँन र भारत तकिया पेपर मिल कलोनी, निशातगंज महानगर लखनउ बस्ने २२ बर्षिय मोहम्मद सरिक रहेका छन् ।

यी मध्ये मोहद जिशान खाँन मूख्य अभियुक्त रहेको र उनि चोरी गरिएको पसलकै छेउको कोठामा मासिक ३० हजार भाडा तिर्ने गरि बसेका थिए । अभियुक्तहरुले घरधनिलाई विश्वास दिलाउन र आफुहरुलाई राम्रो देखाउन एक बर्षको भाडा ३ लाख ६० हजार रूपया अग्रिम रुपमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र रेग्मीले बताए । पसल छेउमै भाडामा बसेका अभियुक्तले बैशाख १२ गते राती बुटवल उपमहानगरपालिका वडा नम्बर ६ बिपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा ग्यास कटरले तिजोरी काटेर ३ करोड ५० लाख बराबरको सुन चोरी गरेको रेग्मीले बताए । अपराध गरेको १३ दिनमा प्रहरीले अभियुक्तहरुलाई चोरीको सुन सहित पक्राउ गर्न सफल भएको हो ।

प्रहरी उपरिक्षक रविन्द्र रेग्मीकै कमाण्डमा रुपन्देहीका प्रहरी
नायब उपरिक्षक नवरत्न पौडेल, ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक युवराज जंग कार्की, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरिक्षक नुरुराज सारु, वडा प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरिक्षक सागर भट्टराई, प्रहरी चौकी मेउडिहवाका प्रहरी सहायक निरिक्षक कमल भट्टराईको टिमले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक ठग बहादुर केसीको ब्यवस्थापनमा भारतीय सीमा नजिकै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ४ महुवारी स्थित खुनगाई कालीदह सडक खण्डमा भारतीय नमबर प्लेटको गाडी युपी ३२ एल डब्लु ३१५१ सहित अभियुक्तहरुलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । अभियुक्तहरुबाट पंहेलो सुन जस्तो देखिने १ थान पहेलो सिक्का, पहेलो सुन जस्तो देखिने बिस्कुट जस्तो देखिने धातु गरि १ सय ग्राम ६ सय मिलिग्राम बरामद गरिएको बताए । यस्तै उनिहरुबाट मोबाईल भारतीय रुपैया, एटिएम कार्ड लगायतका समानहरु फेला परेको प्रहरीले जनाएको छ । चोरी भएको अरु सुन उनिहरुले लुकाएको वा बेचेको सो सम्बन्धमा थप अनुसन्धान भईरहेको एसपी रेग्मीले बताए ।