बुटवल,२६ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.२ शंकनगर बनबाटिकामा निर्माणाधिन अवस्थामा रहेको प्रथम शहिद लखन थापा मगर तथा मगर संग्रहालय अलपत्र परेको छ ।
स्थानीय निकायबाट आवश्यक सहयोग नगरेका कारण संग्रहलाय अलपत्र परेको हो ।
निर्माण सुरु भएको १२ वर्ष हुँदा पनि संग्रहालय निर्माण सम्पन्न हुन नसकेको प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठान तथा संग्रहालय निर्माण समितिका अध्यक्ष माधवर सलामी मगरले बताए ।
बजेटको अभाव हुँदा संग्रहालय बन्न नसकेको उनकाे गुनाशो छ । संग्रहालय निर्माण सम्पन्न गर्न तिलोत्तमा नगरपालिकासँग पटक पटक बजेटको माग राख्दा पनि कुनै सुनुवाई नभएको मगरले बताए ।
साविक जिल्ला विकास समिति र शंकनगर गाविस हुँदा केही बजेट परेर संग्रहालयको भवन निर्माण भएपनि पछि जनप्रतिनिधि आएपछि बजेट रोकिदा पूर्ण हुन नपाएको उनकाे गुनासो छ ।

संग्रहालय निर्माण सम्पन्न गर्न अझै करिब ३० लाख बजेटको आवश्यकता रहेको संग्रहालयका वरिष्ठ सल्लाहकार खेम बहादुर पुनले बताए ।
बन बाटिकामा निर्माण गरिएको संग्रहालयमा मगर संस्कृतिसहित प्रथम सहिद लखन थापा मगरको जानकारी दिने गरि निर्माण गरिएको उनले बताए ।
भवनको निर्माण सम्पन्न भएपछि ऐतिहासिक संस्कृति झल्कने र सहिद लखन थापा सहित मगर कला संस्कृतिकाे बारेमा जानकारी लिन सकिने बस्तुहरु संग्रहालयमा राखिने पुनले जानकारी दिए ।

स्थानीय सरकारले संस्कृति संरक्षणमा ध्यान नदिएको उनिहरुको गुनाशो रहेको छ ।