लुम्बिनी,२५ बैशाख ।
२५६६ औं बुद्ध जयन्तिको अवसरमा लुम्बिनीमा बिशेष कार्यक्रम गरी मनाउने तयारी भएको छ ।

कोभिड १९ का कारण २ वर्ष सम्म बुद्ध जयन्ती मनाउन नसकिएकोले लुम्बिनीमा कोभिडको प्रभाव छैन भन्ने सन्देश दिनको लागि लुम्बिनी, कपिलवस्तु र नवलपरासीमा चार दिन सम्म विशेष कार्यक्रम गरि मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

जेठ १ गते रामग्राममा विशेष पुजाआजा र दिप प्रज्वलन, २ गते लुम्बिनीमा विशेष कार्यक्रम तथा दिप प्रज्वलन र दिउँसो वृहत कार्यक्रम, साँझ रुपन्देहीको देवदह, नवलपरासीको रामग्राम, लुम्बिनी र कपिलवस्तुको तिलौराकोटमा विशेष पुजा सहित दिप प्रज्वलन तथा सुरसुधाको सांगितिक कार्यक्रम गर्ने कोषको तयारी छ ।

जेठ ३ र ४ गते लुम्बिनी देखि कपिलवस्तु सम्म सिद्धार्थ गौतमको शोभायात्रा, प्राचिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सुचिकृत गर्ने सम्बन्धी देश विदेशका विज्ञहरुको सम्मेलन हुने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
बुद्धजयन्तीको अवसरमा ७४ करोडको लागतमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।
लुम्बिनीमा निर्माणाधिन पाँच हजार जना अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए ।

कोरोनाका कारण दुई वर्ष देखि थला परेको पर्यटन व्यवसाय देश विदेशका पर्यटकहरुलाई निमन्त्रणा गरेकोले लुम्बिनीमा हजारौंको संख्यामा पर्यटक आउने विकास कोषले जनाएको छ । बुद्धजयन्तीको अवसरमा कुबेतबाट जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु बोकेर अवतरण गर्ने कार्यक्रम पनि रहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि बुद्धजयन्ति मनाउन लुम्बिनी आउने कार्यक्रम रहेको जनाइएको छ ।

यद्यपी लुम्बिनी विकास कोषले मोदी आउने आधिकारीक रुपमा जानकारी नआएको जनाएको छ ।
भारतका सिआइडी सेनाहरु नेपाल आइसकेकोले मोदी आउने पक्का जस्तै भएको जानकारहरु बताउछन् ।
कुबेतबाट आउने जहाज र पर्यटक, भारतका प्रधानमन्त्री र पर्यटक, आन्तरिक पर्यटक र उच्च पदस्थ व्यक्तित्वहरु लुम्बिनीमा आउने भएपछि लाखौं पर्यटक बुद्धजयन्तिमा भित्रने अपेक्षा गरिएको छ ।